परीक्षा नै नलिई विद्यार्थीलाई पास गराएको आरोपमा उप-प्राध्यापक बर्खास्त

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय इन्जिनियरिङ तर्फको स्नातकोत्तर कार्यक्रमका निर्देशक विश्वनाथ यादवलाई विश्वविद्यालयले बर्खास्त गरेको छ । आज विश्वविद्यालयले कानून संकायमा अनियमितता तथा कारवाही सम्बन्धी भर्चुअल मार्फत पत्रकार सम्मेलनमा बोल्दै विद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले बर्खास्त गरिएको बताए ।

उपकुलपति सिंहले भने, ‘अक्षम्य शैक्षिक अपराध भएकाले कार्यक्रम निर्देशक तथा स्थायी उप-प्राध्यापकबाट बर्खास्त हुने गरी विश्वनाथ यादवको नाममा पत्र काटेर दिइएको छ । प्रयोगात्मक कक्षा नै सञ्चालन नगरी मनलाग्दी अंक दिएर विद्यार्थी उत्तीर्ण गराएको पाइएपछि विश्वविद्यालयले कारबाही गरेको हो ।’ यस अघि परीक्षामा भएको अनियमितता छानबिन गर्न प्रा.डा.दीपबहादुर रावलको नेतृत्वमा समिति गठन गरिएको थियो । निर्देशक उप–प्राध्यापक यादवले विश्वविद्यालयको शैक्षिक मर्यादामा आँच आउने गरी शैक्षिक अपराध गरेको छानबिनबाट पुष्टि भएपछि सेवाबाट बर्खास्त गरिएको विश्वविद्यालयले जनाएको छ ।

कार्यक्रम निर्देशक यादवले विद्यार्थीको आन्तरिक मूुल्यांकनतर्फ विषय शिक्षकले पठाएको नम्बर लुकाएर मनलाग्दी रुपमा नम्बर दिएको उजुरी परेको थियो । यस्तै, उनले परीक्षामा सामेल नै नभएका विद्यार्थीलाई पनि पास गराएको पाइएको हो । छानबिन समितिले निर्देशक यादव आर्थिक प्रलोभनमा परी यस्तो काम गरेको निष्कर्षसहित दोषी भएको पुष्टि गरेको थियो । परीक्षामा भएको अनियमितताका विषयमा छानबिन गर्न गठित समितिले उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहलाई निर्देशक यादव दोषी देखिएको प्रतिवेदन पेस गरेको थियो। समितिले यादवलाई स्पष्टीकरण पनि सोधेको थियो । स्पष्टीकरणबाट पनि चित्तबुझ्दो जवाफ नआएपछि निर्देशक यादवलाई विश्वविद्यालयले स्थायी उप-प्राध्यापक पदबाटै बर्खास्त गरिएको पत्र काटेको उपकुलपति सिंहले बताए ।

त्यस्तै, सिंहले तीन महिना अघि स्नातक तह अन्तर्गत कानून संकायको प्रवेशको परीक्षामा लिने क्रममा आफ्ना नातेदारका विद्यार्थीहरूलाई पास गराएको भन्दै कानून संकायका उप–प्रध्यापक सुजन पन्त पनि कारवाहीमा परेको बताए । उनले भने, ‘प्रवेश परीक्षामा नाम नआएका अन्य विद्यार्थीहरुले अदालतमा रिट हालेका थिए। उच्च अदालत सुर्खेतले सत्यतथ्य छानविन गरी उक्त विद्यार्थीको नाम फैसला सुनायो। साथै अदालतले विश्वविद्यालयको नाम बचाउनमा सहयोग गरेकोमा उच्च सम्मान गर्न चाहान्छु ।’

कानून संकायका उप–प्रध्यापक सुजन पन्तले प्रवेश परिक्षा हुनु पूर्व नै नाम निस्किएका विद्यार्थीलाई परिक्षा हुनु एक दिन पहिले प्रश्न आउँट गरेकाले उनीलाई पनि बर्खास्त गरिएको प्रा.डा. नन्दबहादुर सिंहले जानकारी दिए । उनी करारमा मध्यपश्चिम विश्वविद्यालयमा करारमा कार्यरत थिए ।