पेनगुइन प्रकाशकबाट मास्टर शेफ सन्तोष साहको नेपाली मौलिक खानाको परिकार सम्बन्धी पुस्तक ‘ऐला’
पाक विशेषज्ञ तथा बिबिसी मास्टर शेफको उपबिजेता सन्तोष साहले नेपाली खानाको परिकारका बारेमा पुस्तक प्रकाशित गर्ने भएका छन् । उनले आफ्नो ट्विटर मार्फत नेपाली परिकार समेटिएको पुस्तक ‘ऐला’ अर्को वर्ष प्रकाशन हुने जानकारी दिएका हुन् । साह विश्वव्यापी चर्चित पाक कार्यक्रम बिबिसी मास्टर्स सेफ प्रोफेसनलको फाइनलिस्ट थिए, जहाँ उनले नेपालको जनजातिका मौलिक खाना पस्केका थिए। योमोरी, छोयला, गुन्द्रुक जस्ता परिकारलाई पस्कँदा साहले आफ्नो संघर्षका कथा भन्न भ्याए ।
कार्यक्रम सकिएको ६ महिनापछि खुसी पोख्दै उनले पुस्तक प्रकाशन गर्न लागेको बारेमा जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘म यो घोषणा गर्न पाउँदा अत्यन्तै हर्षित छु, मेरो पहिलो पाकपुस्तक (कुकबुक) अर्को वर्ष प्रकाशनमा आउँदैछ ।’ उनले पुस्तक प्रसिद्ध पब्लिकेसन ‘पेन्गुइन’ ले प्रकाशन गर्न लागेको जानकारी गराएका छन् । यो पुस्तक अमेजनले बिक्री गर्नेछ। पुस्तक आउनेबारे जानकारी दिँदै अमेजनले आफ्नो वेवसाइटमा पुस्तकभित्रका सामाग्री बारे उल्लेख गरेको छ ।
नेपालका खानेकुराका सामग्री मिहिन तरिकाबाट जान्नको लागि यो पुस्तक सिक्दै गरेको र सीपयुक्त भान्छेहरुको लागि उपयोगी हुने अमेजनले उल्लेख गरको छ । नेपाली खानाका उत्कृष्ट परिकारहरु ठूला दुई छिमेकी देशहरु ‘भारत र चीन’ का खानाका परिकारले छायाँमा परेका थिए। मास्टरसेफका फाइनलिस्ट साहले यसलाई प्रकाश पार्दै पाक पुस्तक ‘ऐला’ लिएर आउँदैछन् । उनले यो पुस्तकमा ६० भन्दा धेरै खानाका परिकारहरुलाई खानाको इतिहास सँगै उनको व्यक्तिगत अनुभूति जोडेर प्रस्तुत गरेका छन् ।
साहले पुस्तकको नाम पनि मौलिक नेवारी पेय पदार्थबाट राखेका छन्। ‘ऐला’ नेवार समुदायले आफैले बनाउने रक्सीको एक प्रकार हो । बिबिसी मास्टरसेफ प्रोफेसनलको भान्छाघरमा बन्ने गरेका खानेकुराहरुमध्ये सन्तोषको खाना फरक देखियो। खानासँगै संघर्षका अनुभवको विशेष प्रस्तुतिले विश्वसमुदायको ध्यान साहतर्फ खिच्यो । सिरहाको न्यून वर्गीय परिवारमा जन्मेका साह जो दैनिक गुजाराको लागि पाउरोटी र प्लास्टिक बेच्थे, बिबिसी मास्टर्स सेफ प्रोफेसनलको फाइलनमा पुग्नु चासोको विषय थियो ।
विश्वका धेरै जनसंख्याको ध्यान आफूतिर केन्द्रित गरिरहेका साहले आफ्नो मातृभूमि भुलेनन् । नेपालका मौलिक खानालाई पस्केर यसप्रति चाख बढाए । साहले प्रतिस्पर्धा त जितेनन् तर धेरैको मन जिते। कार्यक्रम सक्किएपछि नेपाल आएर यहाँका धेरै ठाउँ घुमेका साहले मास्टरसेफपछि ‘नेपालका मौलिक परिकारहरु समेटिएको पुस्तक प्रकाशन गर्छु’ भनी अभिव्यक्ति दिएका थिए । उनी आफ्नाे बाचा पूरा गर्ने तरखरमा छन् ।