सोमबार ५ बजेसम्म हस्ताक्षर फिर्ता गर्न नेपाल समूहलाई निर्देशन
काठमाडौं । नेकपा (एमाले)ले विपक्षी दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षर फिर्ता गर्न वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई सोमबारसम्मको अल्टिमेटम दिएको छ । विपक्षी नेतालाई प्रधानमन्त्री नियुक्त गराउन सर्वोच्च अदालतमा मुद्दाका पक्षधर बनेर प्रस्तुत हुने संविधान र पार्टीको विधान विपरित भएको ठहर गर्दै एमालेले हस्ताक्षर फिर्ता गर्न निर्देशन दिएको हो ।
त्यसरी हस्ताक्षर गर्ने पार्टीका निवर्तमान सांसदलाई शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले यस्तो निर्देशन दिएको हो । अनधिकृत हस्ताक्षरले वैधता स्थापित हुन नसक्ने र ती हस्ताक्षर मान्य नहुने विज्ञप्तिमा उल्लेख गरिएको छ । एमालेले पार्टी नेतृत्वको सरकारलाई अपदस्थ गराएर विपक्षी नेतालाई प्रधानमन्त्री बनाउन पार्टीका कतिपय सांसद हस्ताक्षरसहित राष्ट्रपति समक्ष प्रस्तुत भएको छ । ती मध्ये केही सांसद् विपक्षी नेतालाई प्रधानमन्त्री बनाउन लागेको भन्दै यस्तो निर्देशन दिएको हो ।
‘आफ्नो पार्टी नेतृत्वको सरकारलाई अपदस्थ गराएर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन हाम्रो पार्टीका कतिपय सांसदहरु हस्ताक्षरसहित राष्ट्रपति समक्ष प्रस्तुत हुनु र तीमध्ये केही विपक्षी दलका नेतालाई प्रधानमन्त्रीमा नियुक्ती गराउन सर्वोच्च अदालतमा मुद्दाका पक्षधर बनेर प्रस्तुत हुनु नेपालको संविधानको मर्म, भावना, लोकतान्त्रिक पद्धति र पार्टीको विधान विपरीत विषय हो’, विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ यो बैठक त्यसरी हस्ताक्षर गर्ने पार्टीका निवर्तमान सांसदलाई आगामी सोमबार ५ बजेभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन गर्दछ । यस्ता अनधिकृत हस्ताक्षरको वैधता स्थापित हुन नसक्ने र यी हस्ताक्षरहरु मान्य हुन नसक्नेतर्फ पनि हाम्रो पार्टी सम्बद्ध सबैमा स्पष्ट पार्न चाहन्छ ।’