एमालेको केन्द्रीय कमिटी बैठक आज, वामदेव गौतम सहभागी हुने

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पार्टी उपाध्यक्ष वामदेव गौतम सहभागी हुने भएका छन् । नेकपा (एमाले) का उपाध्यक्ष तथा एकता अभियानका संयोजक रहेका गौतम नेकपा (एमाले) को २०७५ जेठ ३ गते पुर्वको केन्द्रीय कमिटी बैठकमा उपाध्यक्षको हैसियतमा भाग लिन बालुवाटार गएको उनको सचिवालयले जनाएको छ ।

केन्द्रिय कमिटीको १३ औं बैठक बिहान ११ बजेबाट बालुवाटारमा बस्दैछ । गौतम यसबीचमा संसदीय दलको बैठकमा भाग लिएपनि अन्य बैठकमा सहभागी भएका थिएनन् ।

संसद् विघटनपश्चात नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा ओलीसमूह र माधव-प्रचण्ड समूह विभाजित भएर देशभर सभा गरेपनि उपाध्यक्ष वामदेव गौतम कुनै समूहमा लागेनन् । यद्यपी उनले आफ्नो नेतृत्वमा ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा गरेका थिए। उनले नेकपा एमाले र माओवादी छुट्टिएपछि अध्यक्ष ओली २०७५ जेठ २ गतेसम्मको मानेर अगाडि बढ्नुपर्ने बताउँदै आएका थिए ।

बिहीबार गौतम लगायतका पदाधिकारीलाई बैठकमा सहभागी हुन पत्र पठाइएको थियो । नवौं महाधिवेशनबाट निर्वाचित सबैलाई सम्बोधन गरेर पत्र पठाइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।वरिष्ठ नेता माधवकुमार नेपाल र उनी पक्षधर नेताहरूले पार्टीलाई जेठ २ को स्थितिमा फर्काउन माग राख्दै आएका थिए । अडान त्यागेर अध्यक्ष केपी शर्मा ओली त्यसमा सहमत मात्र भएनन्, महाधिवेशन आयोजक कमिटी भंग गरेका छन् ।

दुवै पक्षका दोस्रो पुस्ताका केही नेता एकता पहलमा लगातार बस्दै आएका छन् । २०७७ फागुन २८ मा गठन भएको दसौं महाधिवेशन आयोजक समिति बुधबार भंग भएपछि वरिष्ठ नेता माधवकुमार नेपाललगायत ११ माथि भएको कारबाही निस्प्रभावी भएको छ ।

अन्तिम महाधिवेशन आयोजक समितिको बैठकले नेकपा एकताका बेला थपिएका र नेकपा भंग भएपछि रामबहादुर थापासहित माओवादी केन्द्र नगई एमालेमै बसेका नेतालाई केन्द्रीय कमिटी र स्थायी समितिमा थप गरेकोमा माधव पक्षले असहमति प्रकट गरेका छन् । यथास्थितिमा माधव पक्ष पार्टीका गतिविधिमा सहभागी नहुने भएको छ। तर, दुवै पक्ष एकताको नजिकमा आइपुगेका कुरा स्वीकार गर्छन् ।

एमालेका उपाध्यक्षसमेत रहेको माधव पक्षका नेता भीमबहादुर रावलले शुक्रबारको बैठकमा सहभागी नहुने जानकारी दिए। उनले आफ्नो पक्षमा बैठक नजाने सर्वसम्मत निर्णय भएको बताए । उपाध्यक्ष रावलले पार्टी एकतामा देखिएको समस्याको समाधान वार्ता र सहमतिबाट खोजिनुपर्नेमा समेत जोड दिएका छन् ।