नेपाल पक्षको २ बुँदे निर्णय, भोलिको बैठकमा सहभागी नहुने

नेकपा एमालेको माधव नेपाल पक्ष नेकपा एमालेको भोलि शुक्रवारका लागि तय भएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने भएको छ ।सहमतिको आधारमा स्थायी कमिटीको बैठक बसेर मात्र केन्द्रीय कमिटीको बैठक बोलाउनुपर्ने शर्त नेपाल समूहले अगाडि सारेको छ ।

काठमाडौंको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बिहीवार बसेको माधव नेपाल पक्षका स्थायी कमिटी सदस्यको बैठकले दशौं महाधिवेशन आयोजक कमिटीले नभई स्थायी कमिटीको बैठकमार्फत केन्द्रीय कमिटीको बैठक बोलाउनुपर्ने निर्णय गरेको हो ।

उपाध्यक्ष भीम रावलले भोलि शुक्रवारको बैठकमा सहभागी नहुने सामूहिक सर्वसम्मत निर्णय भएको जानकारी गराए । नेपाल पक्षले २ बुँदे प्रस्ताव पारित गर्दै सहमतिका आधारमा बैठक बोलाउन माग गरेको छ । ‘नवौं महाधिवेशनबाट निर्वाचित निकायलाई जेठ २ गते अगाडिको अवस्थामा पुर्‍याउन आग्रह गरिएको छ । विधान विपरीत गठित दशौं महाधिवेशनको बैठक र त्यसका निर्णयले पार्टी एकता हासिल गर्न एकता हुने भएकाले १८ गतेको बैठकमा सहभागी हुन सकिँदैन । वार्ता र सहमतिबाट समस्याको समाधान गर्नुपर्छ,’ प्रस्तावबारे रावलले भने ।

दोस्रो प्रस्तावमा नेकपा एमालेलाई एकताबद्ध रूपमा बढाउन उचित र सार्थक बैठक राखी सहमतिको प्रक्रिया अवलम्बन गरिनुपर्ने रहेको रावलले बताए । उनले केन्द्रीय कमिटीको बैठकभन्दा अगाडि सहमतिको आधारमा स्थायी कमिटीको बैठक बोलाइनुपर्ने आफूहरूको अडान रहेको बताए ।

संस्थापन पक्षले भने भोलि शुक्रवारको बैठक नरोकिने बताएको छ । बुधवार बसेको बैठकले भोलि बिहान ११ बजेका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।