आजदेखी राष्ट्रिय सभाको आठौं अधिवेशन, विभिन्न अध्यादेश पेश हुने
काठमाडौं । राष्ट्रय सभाको आठौं अधिवेशन बैठक आज विहिबार बस्दैछ । साँझ ४ बजे संसद भवनमा बस्ने बैठकको शुरुमा राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आव्हान सम्बन्धी पत्रको व्यहोरा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वाचन गरेर बैठकलाई जानकारी गराउनुहुने कार्यसूची छ ।
संघीय संसद सचिवालयले तयार गरेको बैठकको कार्यसूचीमा राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद पुनर्गठन सम्बन्धी पत्रको व्यहोरा पनि पढेर सुनाउने, पूर्व सांसदहरुको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ ।
पूर्व सांसदहरुमा गंगादत्त जोशी, डा. शंकरप्रसाद उप्रेती, ऐश्वर्यलाल प्रधानाङ्ग, प्रा. विदुर पौडेल, एकनाथ रानाभाट, कुबेरप्रसाद शर्मा, मोतिप्रसाद पहाडी, हरिभक्त अधिकारी, कृष्णसिंह परियार, दिनेशचन्द्र यादव, अशोक कोइराला, नविन्द्रराज जोशी, लक्ष्मीदेवी भण्डारी, मोहम्मदी सिद्धिकी, शिवबहादुर खड्का, रबनी चौधरी र तप्तबहादुर विष्टको शोक प्रस्ताव बैठकमा प्रस्तुत हुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । त्यस्तै अन्य सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीको तर्फबाट संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७, शपथ सम्बन्धी अध्यादेश २०७८ पेश गर्ने कार्यक्रम छ ।
सोहीअनुसार गृहमन्त्रीको तर्फबाट नेपाल नागरिकता –पहिलो संशोधन) अध्यादेश २०७८, बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश २०७७, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ र तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ पेश गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।
त्यस्तै, अन्य कार्यसूचीहरुमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठको तर्फबाट फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही संशोधन गर्ने अध्यादेश २०७८, यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ पेश गर्ने कार्यक्रम छ । सोहीअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठको तर्फबाट स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८, कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८, औषधि (तेस्रो संशोधन) अध्यादेश २०७८ कार्यसूची रहेको सचिवालयले जनाएको छ ।