युरोकप २०२० : को–को भिड्दै छन् क्वार्टरफाइनलमा ?

एजेन्सी । युरोकप २०२० अन्तर्गत क्वार्टरफाइनल चरणमा प्रतिस्पर्धा गर्ने आठै टोलीको टुंगो लागेको छ । मंगलबार अबेर राति भएको प्रिक्वार्टरफाइनल चरणको अन्तिम खेलमा युक्रेन विजयी भएसँगै प्रतियोगिताको अन्तिम आठको समीकरण पनि पूरा भएको हो । जारी युरोकपको क्वार्टरफाइनल चरणमा प्रतिस्पर्धा गर्ने टोलीहरूमा इंग्ल्यान्ड, स्पेन, बेल्जियम, स्विट्जरल्यान्ड, इटाली, डेनमार्क, चेक परिपब्लिक र युक्रेन रहेका छन् ।

शुक्रबार राति हुने पहिलो क्वार्टरफाइनल खेलमा स्विट्जरल्याडले स्पेनको सामना गर्नेछ । स्विट्जरल्यान्ड विश्वकप विजेता फ्रान्स र स्पेन विश्वकपको उपविजेता टोली क्रोएसियालाई पराजित गर्दै प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेका टोली हुन् ।

सोही दिन त्यसपछि हुने अर्काे खेलमा बेल्जियम र इटाली भिड्नेछन् । बेल्जियम युरोकपको साबिक विजेता पोर्चुगल र इटाली अस्ट्रियालाई पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेका टोली हुन् ।

शनिबार राति हुने क्वार्टरफाइनल चरणको पहिलो खेलमा डेनमार्क र चेक रिपब्लिक तथा सोही दिन हुने क्वार्टरफाइनल चरणको दोस्रो खेलमा युक्रेन र इंग्ल्यान्ड भिड्नेछन् । डेनमार्कले प्रिक्वार्टरफाइनल चरणको खेलमा गेराथ बेलको टोली वेल्स र चेक रिपब्लिकले नेदरल्यान्डलाई पराजित गरेका थिए ।

यस्तै, मंगलबार भएको खेलमा इंग्ल्यान्डले जर्मनीलाई पराजित गर्दै अन्तिम आठको यात्रा तय गर्दा युक्रेनले स्विडेनलाई पराजित गर्दै इंग्ल्यान्डसँगको भेट पक्का गरेको हो ।

युरोकप २०२० को क्वार्टरफाइनल चरणको खेल


शुक्रबार, जुलाई २ तारिख २०२१ यूके समय
स्विजरल्यान्डविरुद्ध स्पेन (बेलुका ५ बजे, सेन्ट पिटर्सबर्ग, रुस)
बेल्जियमविरुद्ध इटाली (बेलुका ८ बजे, म्युनिख, जर्मनी)

शनिबार, जुलाई ३ तारिख २०२१ यूके समय
चेक रिपब्लिकविरुद्ध डेनमार्क (बेलुका ५ बजे, बाकु, अजरबैजान)
इंग्ल्यान्डविरुद्ध युक्रेन (बेलुका ८ बजे, रोम, इटाली)