शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले गल्ती स्विकारे, एमाले बैठकमा राजीनामा माग
काठमाडौं । जातीय विभेदलाई प्रश्रय दिएको आरोप लागेका शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले राष्ट्रिय मानव अधिकार आयोगसमक्ष गल्ती महसुस भएको बताएका छन् । आयोग पदाधिकारीहरुसँगको छलफलमा मन्त्री श्रेष्ठले गल्ती गरेको महसुस भएको र आइन्दा यस्तो गल्ती नगर्ने बताएका हुन् । राष्ट्रिय मानव अधिकार आयोगले बुधबार विज्ञप्ति जारी गरी मन्त्री श्रेष्ठले आफूले गल्ती महसुस गरेको बताएको उल्लेख गरेको छ ।
‘छलफलको क्रममा मन्त्री श्रेष्ठले उक्त घटनामा नहुनुपर्ने कुरा भएको, उक्त घटनामा आफू झण्डासहितको सरकारी गाडीमा नगएको भए हुन्थ्यो भन्ने कुरा महसुस गरेको र भविष्यमा यसप्रकारका घटना नदोहोरिनेमा आफू सचेत रहने बताउनुभयो’ आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
श्रेष्ठलाई आयोगका अध्यक्ष तथा सदस्यहरुले यस किसिमको घटना नदोहार्याउन निर्देशन दिएको आयोगले जनाएको छ । आयोगले जातीय विभेद तथा छुवाछूत जस्तो संवेदनशील घटनामा संलग्न दोषीलाई संरक्षण नगर्न, यस्ता घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धानमार्फत दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ ।
जातीय विभेद गरेको आरोपमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधानलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले ९ असारमा रिहा गरेको थियो । मन्त्री श्रेष्ठ आफैं महानगरीय प्रहरी वृत्त सिंहदरबारमा पुगेर प्रधानलाई झण्डावाल गाडीमा राखेर लगेका थिए । यसबाट मन्त्री श्रेष्ठको चर्को आलोचना भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मन्त्री श्रेष्ठलाई जातीय विभेदलाई प्रश्रय दिने खालको गतिविधि नगर्न सचेत गराएका थिए । आयोगले मन्त्री श्रेष्ठलाई मंगलबार कार्यालयमा बोलाएर यसबारे सोधपुछ गरेको थियो ।
काठमाडौं महानगरपालिका–११ बबरमहलकी प्रधानले दलित भएकै कारण रुपा सुनारलाई कोठा दिन अस्वीकार गरेको आरोप लागेपछि ६ असारमा प्रहरीले पक्राउ गरेको थियो ।
त्यस्तै नेकपा एमालेको दशाैं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग भएको छ । जातीय विभेदमा शिक्षामन्त्री आफैं सक्रिय भएर लागेकाे भन्दै केन्द्रीय सदस्य जगत विश्वकर्माले मन्त्रीको राजीनामा माग गरेका हुन् । बैठककाे सुरूमा नै नेता विश्वकर्माले मन्त्री श्रेष्ठबाट जातीय विभेदलाई बढावा दिने काम भएको भन्दै राजीनामा माग गरिएको एक नेताले जानकारी दिए ।
सञ्चारकर्मी रुपा सुनारलाई दलित भएकाे कारणले कोठा नदिएको आराेपमा पक्राउ परेकी सरस्वती प्रधान रिहा भएपछि मन्त्री श्रेष्ठ आफैं झण्डावाल गाडी लिएर प्रहरी कार्यालय पुगेका थिए । उनले प्रधानलाई आफ्नै गाडीमा राखेर घरसम्म पुर्याएपछि उनकाे चाैतर्फी आलोचना भइरहेको छ ।