पोखराको अन्नपूर्ण केबलकार निर्माणको अन्तिम चरणमा, दशै तिहारबाट संचालन हुने

पोखरा । आउँदो दसैं र तिहारबीच फेवाताल, पोखरा बजार, अन्नपूर्ण, धौलागिरी, माछापुच्छ्रे लगायतका हिमाल आकाशबाटै अवलोकन गदै अब केबलकारबाट ८ मिनेटमै सराङ्कोट पुगिने भएको छ ।

फेवातालको किनार पोखरा–१८ सेदीबगरबाट सराङ्कोट जाने गरी निर्माण भइरहेको केबलकारको निर्माण सकिएले अब सञ्चालनको तयारीमा रहेको अन्नपूर्ण केवलकार प्रालिका निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिए । ‘कोरोना संकटका कारण केबलकार निर्माणमा ढिला भएको थियो । पहिलो लकडाउन हटेलगतै जापानी प्राविधिक टोली आएर लठ्ठो टाँग्ने र डब्बा राख्ने काम सकेपछि केबलकार सञ्चालनको तयारीमा थियो । कोरोनाको दोस्रो लहरका कारण सञ्चालन पछि सरेको हो,’ प्रालिका निर्देशक त्रिपाठीले भने ।

कोरोना संक्रमण नियन्त्रणमा आएलगतै जापानी प्राविधिक टोली पोखरा आउनेछन्। केबलकार व्यावसायीक रूपमा सञ्चालनअघि पूर्ण परीक्षण सुरु गरेर दसैं र तिहारको बीचमा सञ्चालन गरिने उनले बताए । केबवलकारमा सराङ्कोटसम्मको शुल्क पनि निर्धारण भइसकेको छ ।

नेपालीलाई प्रतिव्यक्ति ६ सय रुपैयाँ लाग्नेछ । यसैगरी एसियन पर्यटकलाई प्रतिव्यक्ति ७ सय र अन्य मुलुलकका पर्यटकलाई ८ सय लाग्ने गरी टिकट शुल्क तय भएको त्रिपाठीले जानकारी दिए । विद्यार्थी र वृद्धवृद्धालाई २० देखि २५ प्रतिशतसम्म छुट दिइने पनि निर्देशक त्रिपाठीले बताए । पोखरा महानगरपालिकाको राजस्व निर्धारण समितिसहितको टोलीले शुल्क निर्धारण गरेको हो ।

केबलकार सञ्चालनसँगै पोखरा आउने पर्यटकका लागि नयाँ पर्यटकीय आकर्षणको केन्द्र बन्ने भएको छ । मान्छे बोक्ने १७ र एक सामान बोक्ने गुण्डला (डब्बा) सहित १८ वटा डब्बा केबलकारमा सञ्चालन हुनेछ । लठ्ठो तानेर डब्बा फिक्स गरेर अहिले केबलकार तायारी अवस्थामा राखिएको छ । प्रालिले सराङ्कोटमा भ्यूटावर पनि तयार गरिसकेको छ । रेस्टुरेन्टको काम पनि फिनिसिङ मात्र बाँकी रहेको उनले बताए ।

केबलकार निर्माणमा लागत भने बढेको छ। केबलकार सञ्चालनका लागि थप जग्गा खरिद, स्टिल र फलामको स्ट्रक्चर निर्माण गरिने भनिएकोमा कंक्रिट र ढलानको स्ट्रक्चर निर्माण गुर्नपर्ने, स्थायी सम्पत्तिमा लगानी बढी हुनुलगायतका कारण लागत बढेको त्रिपाठीले बताए । केबलकार सम्पन्न हुँदा १ अर्ब लगानी हुने भनिएकोमा लागत बढेर करिब २ अर्ब पुगेको त्रिपाठीको भनाइ छ । केबलकारले प्रतिघण्टा १ हजार ५ सय जनालाई सेवा दिने सक्ने क्षमताको भएको उनले बताए । पोखराको युवा व्यवसायी अन्नपूर्ण केबलकार प्रालिका अध्यक्ष कालु गुरुङसहितको टोलीले ४ वर्षअघि केबलकार निर्माण सुरु गरेको थियो ।