हङकङको अर्बपति होतुङ र अमरधन फाउण्डेसनले नेपाललाई ४५० थान अक्सिजन सिलिन्डर सहयोग
हङकङ । नेपालको बिद्यामान स्वास्थ्य संकटको बेला विभिन्न देशका प्रबासी नेपालीहरुले सहयोग गर्ने क्रम जारी छ । यसै क्रममा हङकङमा बसोबास गरिरहेका नेपालीहरुले पनि नेपालमा दुःख र विपत परेको बेला सहयोग गरिरहेकै छ र अहिलेको स्वास्थ्य संकटलाई ध्यानमा राख्दै नेपाललाई केही सहयोग होस् भनी हङकङको अर्बपति होतुङ र अमरधन फाउण्डेसनले नेपाललाई ४५० थान अक्सिजन सिलिन्डर सहयोग गरेको छ । होतुङ र अमरधन फाउण्डेसनले संयुक्त रुपमा पठाएको अक्सिजन सिलिण्डरहरु काठमाडौं पुगिसकेको जानकार प्राप्त भएको छ । बर्तमान स्वास्थ्य स्थितिमा केही मात्रमा भए पनि सहयोग पुगोस भन्ने उद्धेश्यले सहयोग गरेको कुरा अमरधन फाउण्डेसनको संस्थापक त्रिलोक गुरुङ्गले खबर यूकेलाई जानकारी गराउनुभयो ।
गैर आवसीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको सल्लाहकार समेत रहेका गुरुङको अनुसार एनआरएनए कोभिड २०१९ उच्चस्तरिय कमिटी मार्फत वा कमिटीको समन्वयमा उक्त अक्सिजन सिलिन्डरहरु नेपाल पाठाइएको हो । उक्त पठाइएका अक्सिजन सिलिन्डरहरु आवश्यक भएको स्थान र अस्पतालहरुमा बाँडिने कुरा गुरुङले जानकारी गराउनुभयो । सिलिन्डरहरु हाल एनआरएनएको काठमाडौं स्थित सचिवालयमा (घरमा) रहेको र छिट्टै आवश्यक स्थानहरुमा पुर्याइने कुरा बताउनुभयो । गुरुङको अनुसार १२५ थान कर्णाली प्रदेशमा, ११० थान सुदुर पश्चि प्रदेशमा, १२५ थान गण्डकी प्रदेशमा र ९० थान बाग्मती प्रदेशको लागि छुटयाएको कुरा जानकारी गराउनुभयो ।
त्यस्तै त्रिलोक गुरुङको अनुसार हङकङबाट निकट भबिष्यमा नेपाली १० देखि १२ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्रीहरु पठाउन तयारी गरिरहेको कुरा बताउनुभयो । अहिले पठाइएका अक्सिजन सिलिन्डरहरु नेपाली एक करोड रुपियाँ बराबरको रहेको कुरा उहाँले उल्लेख गर्नुभयो ।
त्यस्तै गुरुङले भबिष्यमा अमरधन फाउन्डेसनले आइसोलेसन केन्द्र, अक्सिजन व्यवस्थापन, स्वास्थ्य अनुसन्धान केन्द्र, अक्सिजन कारखाना निर्माण लगायत कोभिडको कारण मानसिक तनाब वा बिरामी भएका मानिसहरुको लागि मनो परामर्श केन्द्र निर्माणको लागि सहयोग गरिने कुरा जानकारी गराउनुभयो ।
गुरुङले उक्त अमरधन परोपकार फाउन्डेसन उहाँको मातापिताको सम्झनामा २०७३ सालमा स्थापना गरेको थियो । स्थापना भए यता फाउन्डेसनले हङकङ र नेपालमा थुप्रै परोपकारी कार्यहरु गरिसकेको र गरिरहेका छन् ।