कांग्रेसमा महाधिवेशन दाैडधुप : सिंह र निधि लागे काेइरालातिर
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । कोइराला निवास महाराजगञ्जमा शुक्रबार बिहान नेता त्रयबीच भेटवार्ता भएको कोइरालाका स्वकीय सचिव भरत दाहालले जानकारी दिए । कोइरालालाई भेट्न निधि र सिंह महाराजगञ्ज पुगेका हुन् । उनकाअनुसार नेपाली कांग्रेसको १४औं केन्द्रीय महाधिवेशनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको हो ।
महाधिवेशनको मिति नजिकिँदै जाँदा सभापतिका आकांक्षी रहेका कांग्रेस संस्थापकका पुत्रहरूले नेता कार्यकर्ताहरूसँगको भेटलाई तीब्रता दिएका छन् । उनीहरूबीच यसअघि सोमबार भेटवार्ता भएको थियो ।
नेपाली कांग्रेसको संस्थापक हस्तीका पुत्रहरू आफू नेतृत्वमा जाने गरी दौडधूपमा लागेका छन् । कांग्रेसका संस्थापक नेताहरू बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोराहरूले आफूलाई सभापतिको दाबी गर्दै कांग्रेस सुधारको विषय उठाउन थालेका छन् ।