यी हुन् युरोकपको अन्तिम १६ मा भिड्ने टिम, इङल्यान्ड फेरी जर्मनीसँग खेल्ने

१६औँ संस्करणको युरोकप फुटबलको समूह चरणका खेलहरु सकिएको छ । युरोपका विभिन्न ११ सहरमा जारी प्रतियोगिताको अन्तिम १६ को समीकरण पूरा भएको हो । बुधबार राति चार खेल भएसँगै समूह चरणका खेल सकिएको हो । अब ६ समूहका शीर्ष दुई र समूहको तेस्रो स्थान प्राप्त गर्नेमध्येका उत्कृष्ट चार टिमले अन्तिम १६ मा प्रतिस्पर्धा गर्नेछन् ।

नकआउट चरणका खेलहरु शनिबारबाट सुरु हुनेछन् । योपटक समूह चरणका खेलहरुमा बेल्जियम, नेदरल्यान्ड्स र इटालीले शतप्रतिशत जित निकाले । साबिक विजेता टोली पोर्चुगल तेस्रो स्थानमा रहेर उत्कृष्ट चार टोलीको रुपमा नकआउट चरणमा प्रवेश गरेको छ । त्यस्तै, फ्रान्स, जर्मनी, वेल्स, डेनमार्क, अष्ट्रिया, नेदरल्यान्ड्स, चेक रिपब्लिक, क्रोएसिया, स्पेन, स्वीट्जरल्यान्ड, इंग्ल्यान्ड, युक्रेन र स्वीडेनले नकआउट चरणमा स्थान बनाएका छन् ।

त्यस्तै युरो–२०२० मा गएरातिबाट समूह चरणका खेल सकिएका छन्। समूह चरणका खेल सकिँदा १६ टिमले नकआउट चरणमा स्थान बनाउँदा आठ टिम प्रतियोगिताबाट बाहिरिएका छन् । टर्की, रूस, नर्थ म्यासेडोनिया, स्कटल्यान्ड, पोल्यान्ड र हंगरी समूहको पुछारमा रहे । स्लोभाकिया र फिनल्यान्ड तेस्रो स्थानमा रहेर पनि बाहिरिए। ६ समूहको तेस्रो स्थानमा रहने उत्कृष्ट चार टिमले मात्र नकआउटमा स्थान बनाउँछन् ।

यस्तो छ अन्तिम १६ समीकरण-
बेल्जियमविरुद्ध पोर्चुगल
फ्रान्सविरुद्ध स्वीट्जरल्यान्ड
इटालीविरुद्ध अष्ट्रिया
वेल्सविरुद्ध डेनमार्क
नेदरल्यान्ड्सविरुद्ध चेक रिपब्लिक
स्वीडेनविरुद्ध युक्रेन
इंग्ल्यान्डविरुद्ध जर्मनी
क्रोएसियाविरुद्ध स्पेन