कांग्रेसमा तीन गुट, देउवालाई निधिकै टक्कर
पुस्तान्तरणको नारा कार्यान्वयनमा सकस
काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति नजिकिएसँगै शिर्ष तहमा दौडधुप सुरु भएको छ । शुक्रबार बसेको कांग्रेस केन्द्रीय समितीको बैठकले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने टुंगो लगाएपछि सभापति आकांक्षीहरुको दौड बढेको हो । सभापति शेरबहादुर देउवाले फेरि दाेहाेरिने बताउँदै तयारी थालिसकेका छन्। देउवाले शनिबारदेखि निरन्तर आफू निकटस्थ प्रदेशस्तरीय नेताहरुसँग छलफलमा व्यस्त छन् ।
देउवालाई यसपटक सहजै सभापतिको जित्नसक्ने अवस्था भने देखिदैन । संस्थापन पक्षबाटै उपसभापति विमलेन्द्र निधिले समेत सभापति पदकाे दाबी गरेका छन् । शनिबारको बैठकमा सभापति देउवाले भनेका थिए,‘म अब पनि उठ्छु। तपाईहरुले मलाई सघाउनु होस्। लोकतन्त्र र संविधानको रक्षा गर्दै पार्टीलाई पहिलो बनाएर हस्तान्तर गर्छु ।’ तर जवाफमा उपसभापति निधिले देउवाले कुरा राखेपछि हालसम्म आफूले सहयोग गरेकोे बताउँदै यसपटक आफूलाई सहयोग गर्न आग्रह गरे । तर निधिको प्रस्तावपछि पनि देउवाले आफू सभापतिको दाबेदार गरिरहने अडान लिइरहे। फेरि सभापति बन्ने रणनीतिका साथ देउवाले आफू निकटस्थ नेताहरुसँग तल्लो तहसम्म छलफललाई निरन्तरता दिइरहे ।
देउवालाई आफ्नै समूहका निधिले टक्कर दिएपछि शनिबारको वार्तामा सहमतिको लागि वार्तामा बस्न नेताहरुले सुझाएका छन् । निधिलाई पनि मिलाएर सँगै लिएर अघि बढ्न सभापतिलाई सुझाव दिएको केन्द्रीय सदस्य मोहन बस्नेतले बताए । उनले भने, ‘सबै एकजुट भएर जानका लागि अझैं समय सकिएको छैन। छलफलबाट सबै कुराको समाधान निस्कन्छ । र हामी त्यसको लागि प्रयत्नरत छौँ।’ सभापति देउवाले पार्टीको नेतृत्व एकपटक आफैले लिने पहिल्यैदेखि बताउँदै आएका छन् ।
तीन गुट सक्रिय, आकांक्षी धेरै
महाधिवेशनको मिति नजिकिएसँगै कांग्रेसमा सभापति देउवासहित आधा दर्जन बढी नेताहरु आकांक्षी देखिएका छन्। देउवासँग अर्को बलियो आकांक्षीको रुपमा बरिष्ठ नेता रामचन्द्र पौडेल छन् । १३ औँ महाधिवेशनमा पराजित भएका पौडेल यसपटक सभापति हत्याउने कसरतमा छन् । तर, देउवाइतर समूहबाट समेत एक जनामात्रै उमेदवार बन्ने स्थिती नरहेकाले पौडेललाई समेत पनि मुस्किल छ ।
देउवा र पौडेल मात्रै नभएर १३ औँ महाधिवेशनबाट तेस्रो शक्तिको रुपमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूह उदाएको छ। सभापतिमा तेस्रो धारबाट सिटाैला पनि दाबेदार हुने देखिन्छ । आगामी महाधिवेशनमा देउवासहित बरिष्ठ नेता पौडेल र नेता कृष्णप्रसाद सिटौला मुख्य उम्मेदवारको रुपमा देखिएका छन्। महामन्त्री डा. शशांक कोइराला, उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता डा. शेखर कोइराला, अर्जुननरसिंह केसीलगायत नेताहरु पनि सभापतिको दाउमा छन् ।
त्यसो त संस्थापन पक्षमा निधिले समेत सभापतिको आकांक्षा व्यक्त गरेका छन् । तर देउवा निधिलाई मनाउन सक्नेमा ढुक्क भएर सभापतिको तयारी गरिरहेका छन्। देउवाले आफू निकट केन्द्रीय समितीको बैठकमा निधि सहमतिमा नआएपनि सभापतिमा अघि बढ्ने निष्कर्ष निकालेको देउवा निकट स्रोतको भनाइ छ । १३ औँ महाधिवेशनमा देउवा, पौडेल र सिटौलाबीच प्रतिस्पर्धा भएको थियो। पहिलो निर्वाचनमा कुनै उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणमा सिटौलाको समर्थनमा देउवा निर्वाचित भएका थिए ।
पुस्तान्तरणका कुरा
नेपाली कांग्रेसमा मात्रै नभएर सबै राजनीतिक दलमा अहिले नेतृत्व हस्तान्तरणको कुरा उठिरहेको छ। तर कांग्रेसको महाधिवेशनको मिति नजिकिँदै गर्दा फेरि उही पुरानै नेतृत्वको चर्चा छ । नेतृत्व हस्तान्तरणमा लाग्नुपर्ने दोस्रो पुस्ताका नेताहरु पनि शिर्ष नेताहरुलाई बोक्ने होडबाजीमै छन् ।
तर कांग्रेसमा १४ औँ महाधिवेशनले तयारी भइरहँदा नेतृत्व हस्तान्तरणको बिषयलाई प्राथामिकता राखेको कांग्रेसका युवा नेता प्रदिप पौडेल बताउँछन्। ‘हामीले यसअघि पनि नेतृत्व हस्तान्तरणको कुरालाई प्राथमिकता साथ अगाडि ल्याएका थियौँ । त्यो बेलामा सम्भव भएन । अहिले विभिन्न कोणबाट छलफल गरिरहेका छौँ’ उनले भने, ‘त्यस बिषयमा अहिले पनि हामी छलफलमै केन्द्रीत भइरहेकै छौं ।’