सभापति देउवाले आज पनि आफू निकट नेतासँग छलफल गर्दै
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पनि विभिन्न प्रदेशका नेताहरुसँग छलफल जारी राख्ने भएका छन् ।
आगामी १४ औँ महाधिवेशनमा पुनः सभापति पदको उम्मेदवार बन्न लागेका देउवाले आफूलाई सभापति पदमा पुनः विजयी गराउन आग्रह गर्दै प्रदेशका नेताहरुसँग छलफल चलाइरहेका छन् । आज देउवाले काठमाडौंमा उपलब्ध आफू निकट लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नेताहरुसँग आफ्नै निवास बुढानिलकण्ठमा छलफल गर्न लागेको सभापति देउवाका सहयोगी भानु देउवाले जानकारी दिए ।
हिजो देउवाले बागमती र गण्डकी प्रदेशका नेताहरुसँग छलफल गरेका थिए । शनिबार उनले प्रदेश १ र २ का नेताहरुसँग छलफल गरेका थिए । कांग्रेसले पछिल्लो पटक कार्यतालिका संशोधन गर्दै आगामी भदौ १७ देखि २० गतेसम्म काठमाडौंमा पार्टीको १४ औँ महाधिवेशन गर्ने तय गरेको छ ।
यो महाधिवेशनमा पनि देउवाले आफू सभापतिको दाबेदार रहेको सार्वजनिक गरिसकेका छन् । उनले पुनः सभापति बनेर पार्टीलाई पहिलो नम्बरमा ल्याउने प्रतिबद्धता आफ्ना छलफल तथा बैठकहरूमा व्यक्त गर्दै आएका छन् ।