चार दिनसम्म सातैजना यसरी ओडारमा भोकै बसे…

जाजरकोट । जाजरकोटको कुशे गाँउपालिकाको जलजला पाटन क्षेत्रमा हराइरहेका सातै जना सकुशल फेला परेका छन् । प्रहरी र स्थानिय बासिन्दाले बेपत्ताको सकुशल उद्धार गरेका हुन् ।

घरपालुवा गाई, भैंसी, बाख्रा, भेडा लगायतका पशु चौपाया लिएर पाटन पुगेका कुशे गाँउपालिका-८ औलरिजा र वडा नम्बर ९ पैकका ११ जना मध्ये सातजना गत जेठ ३१ गतेदेखि सम्पर्कबिहीन भएका थिए । जलजला लेकको एक खोचमा सातै जना गुटमुटिएर बसेको अवस्थामा प्रहरीले फेला पारेको हो । उद्धार गरिएकाले पाँच दिनदेखि खानेकुरा पानी समेत नखाएको र चिसोले गर्दा निकै कमजोर अवस्थामा भेटिएका हुन् । उनीहरुलाई चाउचाउ, विस्कुट लगायतका खानेकुरा खुवाएर पाटनबाट घर फर्काइएको थियो ।

प्रहरीका अनुसार हावाहुरी सहितको पानी पर्न थालेपछि ११ मध्ये चार जना भागेर ज्यान जोगाएका थिए भने अन्य सातजना चार दिनसम्म सम्पर्कविहीन थिए । जिल्ला प्रहरी प्रमुख मधुकुमार थापाका अनुसार कुशे गाँउपालिका- ८ औलरिजाका डिलबहादुर खड्का, विक्रम खड्का, चन्द्रा खड्का, भविन्द्र खड्का, भीमबहादुर खड्का, धनसरा खड्का र सोही गाँउपालिका वडा नम्बर ९ का कृष्ण रोकाय सकुशल फेला परेका हुन् ।

हराइरहेका २२ गाई, ५० बाख्रा र १० भैंसी भने अझै फेला पर्न सकेका छैनन् ।