बाइडन र पुटिनको जेनेभामा भेट, वार्ता सकारात्मक
एजेन्सी । अमेरिका र रुसका राष्ट्रपतिले जेनेभामा भएको वार्ता सकारात्मक रहेको भन्दै प्रशंसा गरेका छन् । तर सन् २०१८ यता भएको पहिलो प्रत्यक्ष भेटवार्तामा दुई नेताहरूले खासै ठोस प्रगति कायम गर्न नसकेको बताइन्छ । अमेरिकी राष्ट्रपति जो बाइडनले बढाइचढाइ नगरी फरक मतहरू प्रस्तुत गरिएको उल्लेख गरेका थिए भने रुसले नयाँ शीतयुद्ध नचाहेको पुटिनले बताए ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाइडन अनुभवी राजनेता भएको उल्लेख गर्दे दुवैले समान धारणा राखेको बताए । दुई नेताहरू बीचको छलफल झन्डै तीन घण्टा चलेको थियो । वार्ताका लागि त्यो भन्दा बढी समय छुट्याइएको भएपनि बाइडनले आफूहरूलाई थप समय नचाहिएको र रुससँग सम्बन्ध सुधारको वास्तविक सम्भावना अहिले देखा परेको बताए । रुसी नेताका लागि बाइडनले आफूलाई मनपर्ने एभिएटर चस्मा उपहार स्वरूप लिएर आएका थिए । तर पुटिनले बाइडनलाई उपहार दिए नदिएको विषय खुलेको छैन ।
सन् २०१८ मा हेलसिन्कीमा राष्ट्रपति डोनल्ड ट्रम्पलाई भेट्दा उनले फुटबल उपहार दिएका थिए । दुवै पक्षले परमाणु अस्त्र नियन्त्रणबारे छलफल आरम्भ गर्न सहमति जनाएका छन् । उनीहरूले एक अर्काका देशमा राजदूतहरू पठाउने पनि निर्णय गर्ने छन् ।
सन् २०२० को राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको आरोप अमेरिकाले लगाएपछि दुवै देशहरूले छलफलका लागि भन्दै आआफ्ना राजदूत फिर्ता गरेका थिए । तर साइबर सुरक्षा, युक्रेन र हाल अढाई वर्षको जेल सजाय काटिरहेका विपक्षी नेता एलेक्से नभाल्नीको भविष्य जस्ता विषयमा सहमति भएका कुनै सङ्केत देखिएनन् ।
दुवै देशका राष्ट्रपतिहरुको भेटवार्ताको माहौल सकारात्मक रहेको अमेरिकी अधिकारीहरूले बताएका छन । भेटवार्ताका क्रममा नभाल्नीको जेलमा ज्यान गए त्यसले रुसका लागि भयावह परिणाम निम्त्याउने बाइडनले चेतावनी दिएका थिए । शिखर बैठकअघि दुवै पक्षले आपसी सम्बन्ध हालसम्मकै न्यून बिन्दुमा पुगेको बताएका थिए । पुटिनले बन्दीहरू साटासाटबारे सहमति हुनसक्ने सङ्केत गर्दै सम्झौतामा पुग्न सकिने सम्भावना औँल्याएका थिए ।
साइबर हमलाहरूका विषयमा पुटिनले रुस जिम्मेवार नभएको उल्लेख गर्दै आफ्नो देशलाई लक्षित गरी गरिने त्यस्ता अधिकांश हमलाको मूल श्रोत अमेरिका भएको बताएका थिए। बाइडनले संवेदनशील पूर्वाधार जस्तै पानी वा इन्धनमा कुनै किसिमको ह्याकिङ वा आक्रमण अस्वीकार्य हुने र त्यसको प्रतिकार गरिने बताएको बिबिसीले जनाएको छ ।