युरोकप २०२० मा वेल्सको पहिलो जित

युइएफए युरोकप २०२० मा वेल्सले पहिलो जित हासिल गरेको छ । इटालिको बाकु ओलम्पिक स्टेडियममा बुधबार राति सम्पन्न समूह ए को खेलमा वेल्स्ले टर्कीलाई २–० गोल अन्तरले हराएको हो । वेल्सको जितमा आरोन रामसेले पहिलो हाफमा एक गोल गरे भने निर्धारित समयपछि थपिएको अन्तिम मिनटमा कोन्नर रोबर्टसले थप एक गोल गरेका थिए ।

प्रतिस्पर्धात्मक बनेको पहिलो हाफमा वेल्स र टर्की दुबैले गोल गर्ने सुन्दर अवसरहरु बनाएको भएपनि अन्तत खेलको ४३औं मिनटमा ग्यारेथ बेलको पासमा रामसेले गोल गर्दै वेल्सलाई अग्रता दिलाएका थिए । यसपछि खेलको ६०औं मिनटमा जेकी चेलीकले ग्यारेथ बेललाई बक्सभित्र फाउल गर्दा वेल्सले पेनल्टीको अवसर प्राप्त गरेको थियो । तर उक्त अवसरमा बेलले प्रहार गरेको पेनल्टी गोल पोष्टको फ्रेमभन्दा निक्कै बाहिरबाट आकाशिन पुग्यो ।

युरोकपको इतिहासमा निर्धारित समयमा पेनल्टी गोलपोष्टको फ्रेमभन्दा बाहिर प्रहार गर्ने बेल पहिलो खेलाडी बनेका छन् । तर यसअघि २००४ को युरोमा स्पेनका राउलले टाइब्रेकरको दौरान पेनल्टी किक फ्रेमभन्दा बाहिर हानेका थिए । यसपछि खेलको ८८औं मिनटमा टर्कीले खेलमा बराबरीको राम्रो अवसर प्राप्त गरेको थियो । उसका मेरिह डेमिरालको प्रयास वेल्सका गोलकिपर ड्यानी वार्डले शानदार बचाउँ गरेका थिए ।

निर्धरित समयपछि थपिएको पाँचौ मिनटमा रोबर्टसले गोल गर्दै वेल्सलाईअन्तिममा २-० गोल अन्तरको जित दिलाए । समूह ए मा वेल्सको २ खेलबाट ४ अंक भएको छ । यसअघि पहिलो खेलमा वेल्सले स्विट्जरल्याण्डसँग १-१ गोलको बराबरी खेलेको थियो ।

अर्काेतर्फ टर्की खेलेको दुबै खेल गुमाउँदै अंकविहिन छ । टर्कीले पहिलो खेलमा इटालिसँग ३-० गोल अन्तरको हार बेहोरेको थियो । यी खेलहरुपछि इटाली नक आउट चरणमा पुग्ने निश्चित भयो भने वेल्सले अर्को खेल बराबरी मात्रा गर्न सक्यो भने अगाडिको चरणमा पुग्नेछ ।