भारी वर्षाले मनाङमा वितण्डा मच्चायो, तालगाउँका अधिकांश घर डुबानमा

स्थानीयलाई सुरक्षित ठाउँमा सारियो

मनाङ । मनाङको चामे गाउँपालिका–४ को तातोपानी क्षेत्रमा डुबानमा परेका घर । लगातारको भारी वर्षाले हिमाली जिल्ला मनाङमा वितण्डा मच्चाएको छ । ठाउँठाउँका बस्ती विस्थापित भएका छन् भने सरकारी संरचना पनि बाढीमा बगेका छन । विद्युत गृह बगाउँदा कतिपय ठाउँमा विद्युत आपूर्ति अवरुद्ध भएको छ । टेलिफोनका टावर समेत क्षति पुग्दा सञ्चार सम्पर्क नै बिच्छेद भएको छ । सडक सञ्जाल अवरुद्ध हुँदा आउजाउमा पनि मुस्किल भएको छ ।

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार नासोँ गाउँपालिका–१ को तालगाउँ सबैभन्दा बढी जोखिममा परेको छ । दुईवटा ठाडो खोला बढेर आउँदा चामे गाउँपालिकाभित्रै क्षति पुगेको छ । लामिछानेका अनुसार चामेको बाढीले घट्टे खोला र स्याक्लु खोलामा बाढी आएको छ । त्यसबाहेक बिजुली, टेलिफोनका टावर पनि लडेका छन । चामेको मिनिहाईड्रोको पाइप बगाएको छ । तिमाङको विद्युत गृह नै बगाएको पनि प्रजिअ लामिछानेले बताए । त्यस्तै सदरमुकाम चामेको हुलाक कार्यालय पनि बाढीले बगाएको छ ।

उनका अनुसार मनाङको नाँसो गाउँपालिका–१ मा पर्छ ताल गाउँ । मस्र्याङदी नदी किनारको यो बस्ती सबैभन्दा बढी जोखिममा परेको लामिछानेले बताए । उनका अनुसार ताल गाउँ पुरै डुबेको छ । प्रहरीले ताल गाउँका स्थानीयलाई सुरक्षित ठाउँमा सारेको छ । तालगाउँमा ६० वटा जति घर छन । ती सबैजसो घरमा बाढी पसेको छ । ‘घर नै त बगाएको छैन । तर सबैजसो घरमा पानी पसेपछि मान्छे बाहिर निस्केका छन,’ लामिछानेले भने, ‘त्यहाँसम्म आउजाउ पनि सहज छैन । सञ्चार सम्पर्क पनि विच्छेद भएको छ । बाटो अवरुद्ध हुँदा राहत सामाग्री तालगाउम्म लैजान पनि सकिएको छैन ।’

तालमा हेलिकप्टरबाट रेस्क्यूको सामान पठाउने प्रयास भएपनि मौसम खराबीका कारण नसकिएको उनले बताए । उनका अनुसार अहिले तालगाउँका बासिन्दालाई नजिकैको अग्लो ठाउँमा पाल टाँगेर सुरक्षित साथ राखिएको छ । सडक निर्माणमा खटिएको नेपाली सेनाको ब्यारेक बसेको ठाउँमा अहिले गाउँलेलाई सुरक्षित राखिएको उनले बताए ।

चामे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर चन्दका अनुसार बाढीसँगैको पहिरोले मस्र्याङदी नदीको वहावलाई समेत अवरुद्ध गरेको छ । पूर्णरुपमा मस्र्याङदी वहाव नरोकिए पनि अवरोध पुग्दा आसपासका गाउँ डुबानमा परेको चन्दले बताए । चन्दका अनुसार त्यहाँका कम्तिमा एकदर्जन घर बाढीबाट प्रभावित भएका छन । चामे गाउँपालिका–४ र ५ वटाको तातोपानी क्षेत्रका घर अहिले जोखिममा परेको उनले बताए ।

माथिबाट आएको ठाडोखोला मस्र्याङदीमा मिसिँदा मस्र्यााङदीको वहाव नै अवरुद्ध भएको उनले बताए । ‘मस्र्याङदीको वहाव नै अवरुद्ध बनाएको छ । पूर्ण रुपमा खोला बग्न नपाउँदा पानी जमेको छ । त्यसले बढी जोखिम निम्त्याएको छ,’ चन्दले भने । चामे–४ को घट्टेखोलमा पनि बाटो, पुल अवरुद्ध बनाएको उनले बताए । अहिलेसम्म मानवीय क्षति नभएपनि स्थानीयबासिको घर डुबानमा पार्दा उनीहरु बिस्थापित भएको चन्दले बताए ।

यसैबीच गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लगातारको वर्षाका कारण मनाङमा भएको क्षतिप्रति दुख प्रकट गर्दै तत्काल उद्धार र राहतका लागि स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री पोखरेलले मनाङका प्रमुख जिल्ला अधिकारी लामिछानेलाई टेलिफोन गरी मस्र्याङ्दी नदीमा आएको बाढीका कारण डुबानमा तालगाउँका बासिन्दालाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र उनीहरुलाई वसोवासको प्रबन्ध गर्न निर्देशन दिएका हुन् । उद्धार राहतका लागि तत्कालको प्रबन्ध गर्न निर्देशन दिँदै उनले अपुग भएका सामग्री र रकम प्रदेश सरकारले उपलब्ध गराउने बताए ।

मुख्यमन्त्री पोखरेलले अबका केही दिन लगातार वर्षा हुने र गण्डकी प्रदेशका जिल्लाहरु त्यसबाट प्रभावित हुने जलवायु तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेकाले सतर्क भएर रहन पनि प्रदेशवासीमा आग्रह गरेका छन् । मंगलबार विज्ञप्ति निकालेर उनले पहाडी भेगमा बाढी पहिरो र तराई तथा समथर क्षेत्रमा भेलबाढीको खतरा रहेको भन्दै सतर्क रहन आग्रह गरेका हुन् । यो वर्ष अधिक वर्षा हुने अनुमान गरिएसँगै गण्डकी प्रदेश सरकारले जनधनको क्षति रोक्न प्रतिकार्य योजना तत्काल तयार पार्ने निर्णय गरिसकेको छ । पदबहालीकै दिन मुख्यमन्त्री पोखरलेले उक्त निर्णय गरेका थिए ।