देउवा, प्रचण्ड र नेपालको बैठक : विपक्षी गठबन्धनलाई बलियो बनाउने सहमति

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहित विपक्षी गठबन्धनका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीका असंवैधानिक कदमविरुद्ध सशक्त ढंगले अगाडि बढ्ने निर्णय गरेको छ । विपक्षी गठबन्धनलाई अझ बलियो बनाउने उनीहरुले सहमति गरेका छन् ।

नेकपा एमालेको नेता माधव नेपालको निवास कोटेश्वरमा सोमवार साझ बसेको विपक्षी नेताहरुको बैठकले ओलीका असंवैधानिक कदमविरुद्ध प्रतिवाद गर्ने निर्णय गरेको स्रोतले बतायो । बैठकमा देउवा, नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अतिरिक्त कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का सहभागि थिए ।

यसअघि विपक्षी गठबन्धनको बैठक प्राय कांग्रेस सभापति देउवाको निवासमा बस्ने गरेकोमा आज नेता नेपालको निवासमा बसेको थियो । देउवालाई संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्री बनाउन प्रचण्ड, नेपाल यादव लगायतले हस्ताक्षर गरेका थिए । शनिवार मात्र देउवा, नेपाल सहित पाँचजना पूर्वप्रधानमन्त्रीले संयुक्त विज्ञप्ति प्रकाशित गरेर ओलीको गैर संवैधानिक कामको विरोध जनाएका थिए ।

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको टुंगो लागेपछि थप रणनीति सहित अघि बढ्ने तीन नेताहरुबीच सहमति भएको स्रोतले बतायो । विपक्षी गठबन्धनमा रहेका जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव पक्ष र जनमोर्चा भने आजको बैठकमा सहभागि थिएन ।

संघदेखि प्रदेशसम्म गठवन्धनलाई निरन्तरता दिने सहमति

त्यस्तै विपक्षी गठवन्धनका प्रमुख तीन नेताले संविधान र लोकतन्त्रको रक्षार्थ भएको सहकार्यमा आपसी अविश्वास उत्पन्न हुन नदिने निर्णय लिएका छन् । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा बसेको बैठकले प्रदेशदेखि संघसम्म नै गठबन्धनलाई निरन्तरता दिने र सरकारविरुद्ध दृढ भएर उभिने निश्चय गरेको छ ।

बैठकमा नेता नेपालसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का उपस्थित थिए । ‘यो गठबन्धन संविधान, लोकतन्त्र र जनताको सवाल सम्बोधन गर्न बनेको हो । गठबन्धनलाई अझ दह्रो बनाउने, आपसमा अविश्वास बढाउन हुनसक्ने चलखेलप्रति सचेत रहने र ओली सरकारको असंवैधानिक कदमको विरुद्ध दृढ रहने निर्णय भयो,’ कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले नेपाल प्रेससँग भने ।

महामन्त्री खड्काले सबै प्रदेशमा विपक्षी गठबन्धनको कार्यगत एकता कायम रहने भन्दै त्यसलाई भत्काउन हुनसक्ने प्रयत्नप्रति सचेत रहनेबारे छलफल भएको बताए । गठबन्धनले सर्वोच्च अदालतमा विचाराधीन रहेका विषयलाई सरकारले विभिन्न माध्यमबाट प्रभावित गर्न खोजेको भन्दै आपत्तिसमेत जनाएको छ । निर्वाचन आयोग लगायतका संवैधानिक निकायको कामबारे प्रश्न गर्दै गठबन्धनले संवैधानिक निकायले सरकारको स्वार्थअनुसार काम गरेको ठहर समेत गरेको छ ।

‘संवैधानिक अंगहरुलाई प्रभावमा पार्न सत्ताको दुरुपयोग भइरहेको छ, त्यसलाई दृढतापूर्व प्रतिवाद गर्नेछौं । स्वतन्त्र न्यायापालिकाको भूमिकामाथि विभिन्न ढंगले प्रहार गर्न खोजिएकोप्रति हाम्रो ध्यानाकर्ष भएको छ’, खड्काले भने । बैठकले जनतालाई कोरोनाविरुद्धको खोप दिलाउन सरकार असफल भइसकेको र निषेधाज्ञाले मारमा परेको विपन्न वर्गप्रति सरकार उदासीन भएको ठहर समेत गरेको छ ।