पृथ्वीसुब्बा गुरुङले पूर्वमुख्यमन्त्रीको हैसियतमा सुविधा नलिने
पोखरा । गण्डकी प्रदेश सभाका सदस्य पृथ्वीसुब्बा गुरुङले पूर्वमुख्यमन्त्रीको हैसियतमा कुनै सुविधा नलिने भएका छन् । मुख्यमन्त्री हुँदा उनकै सचिवालयमा प्रेस संयोजक रहेका विक्रम न्यौपानेको अनुसार गुरुङले पूर्वमुख्यमन्त्रीको हैसियतमा कुनै सुविधा नलिने सार्वजनिक गरेका हुन् ।
न्यौपानेले आफ्नो सामाजिक सन्जालमा लेखेका छन्- ‘माननीय पृथ्वीसुब्बा गुरुङ प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतबाटै जनताप्रति उत्तरदायी भूमिका निर्वाह गर्नुहुन्छ । उहाँलाई पूर्वमुख्यमन्त्रीको हैसियतका नाममा कुनै सुविधा लिने एक रत्ति पनि इच्छा छैन । उहाँले त्यस्तो सुविधा लिनु हुने छैन ।’
हालसालै नवगठित नेपाली कांग्रेस नेतृत्वका सरकारले प्रदेशका पूर्वमुख्यमन्त्रीलाई सुरक्षालगायत सुविधा दिने गरी ऐन ल्याउने तयारी गरेको छ । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारको पहिलो क्याबिनेट बैठकले आइतबार यस्तो ऐन बनाउने निर्णय गरेको थियो ।
उक्त सरकारको पहिलो निर्णय नै सेवासुविधासम्बन्धी गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ।