युरोकप आजदेखि उद्घाटनमा टर्की र इटली खेल्दै

युरोपियन च्याम्पियनसिपको नयाँ संस्करण आजदेखि सुरु हुँदैछ । यो प्रतियोगिता १९६० मा शुरु भएको हो । हरेक चार वर्षमा हुने यो प्रतियोगिता कोरोना महामारीका कारण २०२० मा भने रोकिएको थियो । सोही प्रतियोगिता शुक्रबार आज रातिदेखि शुरु हुन लागेको हो । यूके समय अहिले बेलुका ८ बजेदेखी शुरु हुँदैछ ।

फिफा विश्वकप पछि युरो कप सर्वाधिक चर्चित प्रतियोगिता पनि हो । त्यसैले यसलाई मिनि विश्वकपको नाम पनि दिइएको छ । युरो कपमा युरोपका देशहरुले प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् । युरो कप यसअघि सम्म २ वटा देशमा आयोजना हुँदै आएको थियो । तर ६० वर्षको इतिहासमा पहिलो पटक ११ देशमा यो प्रतियोगिता आयोजना हुँदै छ ।

यो पटक अजरबैजान, डेनमार्क, इंग्ल्याण्ड, जर्मनी, हंगेरी, इटली, नेदरल्याण्ड्स, रोमानिया, रुस, स्कटल्याण्ड र स्पेनमा आयोजना हुने छ । युरो कपमा २४देशले प्रतिस्पर्धा गर्दा फाइनल भने ११ जुलाईमा आयोजना हुने छ । यो पटक क्रिष्टियानो रोनाल्डोको टिम पोर्चुगल उपाधि रक्षाका लागि मैदान उत्रने छ । २०१६ मा पोर्चुगलले फ्रान्सलाई पराजित गर्दै उपाधि जितेको थियो ।

उद्घाटन इटलीको रोमस्थित ओलम्पिक रंगशालामा हुनेछ भने समापन इंग्ल्याण्डको वेम्वलीमा हुनेछ । आजको उद्घाटन खेलमा इटली र टर्कीबीच प्रतिस्पर्धा हुने छ ।

सन् २०१२ को फाइनल खेलेको इटली त्यसअघि सन् १९६८ को आफ्नो पहिलो सहभागितामै विजेता बनेको थियो । इटलीले अहिलेसम्म ९ पल्ट युरो खेलेको छ । टर्कीको भने त्यति लामो इतिहास छैन । सन् १९९६ देखि मात्रै उसले युरो खेल्न पाएको हो । सन् २००८ मा सेमिफाइनलसम्म पुगेको थियो । टर्कीले अहिलेसम्म पाँचपल्ट युरो खेलेको छ ।