गण्डकी प्रदेशमा भोलि नयाँ सरकार : गठबन्धनको सरकार बन्नुको विकल्प छैन
पोखरा । गण्डकी प्रदेशले आज नयाँ सरकार नपाउने भएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले सबै प्रक्रिया र विपक्षीले बुझाएको दाबी हेरेर भोलि कदम चाल्ने बताएकी छन् । उनले भनिन्, ‘आवश्यक परे म तपाईंहरुलाई बोलाउँछु, मैले संविधान बमोजिम नै काम गर्ने हो ।’
कांग्रेस नेतृत्वको गठबन्धन बहुमत दाबी गर्दै प्रदेश प्रमुख कहाँ गएको थियो । प्रदेश प्रमुख सीताकुमारी पौडेलले बहुमत दाबी गरेर आउन दलहरूलाई आह्वान गरेपछि विपक्षीहरू प्रदेश प्रमुख कहाँ गएका हुन् ।
कांग्रेसका १५, माओवादीका ११, जनमोर्चाका २ (कृष्ण थापा बाहेक), जनता समाजवादीका २, स्वतन्त्र सांसद राजीव गुरुङ(दीपक मनाङे)को हस्ताक्षरसहित उपस्थित भएका थिए । बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिन असफल भएपछि प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेकी हुन् ।
६० सदस्यीय गण्डकी प्रदेश सभाका २७ सांसदले उनलाई विश्वासको मत दिएका थिए । अविश्वासमा ३० र १ जना तटस्थ बसेका थिए। १ सांसद अनुपस्थित रहे । जनमोर्चाका कृष्ण थापाले तटस्थ बसेका थिए । यसअघि कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गरेर गठबन्धनले अविश्वास प्रस्ताव समेत ल्याइएको थियो ।
२ वैशाखमा अविश्वास प्रस्ताव प्रदेश सभा सचिवालयमा पेश भएको थियो । तर अविश्वास प्रस्तावमा मतदान हुन पाएन । १५ वैशाखको बैठकमा मतदान हुने कार्यसूची भए पनि जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित भएपछि सभामुख नेत्रनाथ अधिकारीले बैठकलाई अनिश्चितकालका लागि स्थगित गरिदिएका थिए । पछि कार्यव्यवस्थाको बैठकले २७ वैशाखमा अविश्वासमा मतदान हुने निर्णय गरेको थियो ।
गण्डकीका प्रस्तावित मुख्यमन्त्री भन्छन् : गठबन्धनको सरकार बन्नुको विकल्प छैन
त्यस्तै गण्डकी प्रदेशमा कांग्रेस संसदीय दलका नेता तथा प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कांग्रेस नेतृत्वको गठबन्धनको सरकार बनाउनुको विकल्प नभएको बताएका छन् । आज प्रदेश प्रमुख सीताकुमारी पौडेलको कार्यकक्षमा बहुमत सांसद उपस्थित भएर हस्ताक्षर बुझाएर फर्कनेक्रममा उनले यस्तो बताएका हुन् ।
उनले अहिलेको संवैधानिक व्यवस्था अनुसार नयाँ सरकार बन्नुको विकल्प नभएको बताए । ‘३१ जना माननीय स–शरीर आएर सनाखत गरेका छौँ । हिजो मात्र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले माग्नुभएको विश्वासको मत असफल भएको छ, यो भन्दा अरु विकल्प छैन’ उनले भने ।
विपक्षी गठबन्धनबाट नेपाली काँग्रेसका १५ जना, माओवादी केन्द्रका ११ जना ९सभामुख बाहेक० जनमोर्चाका २ जना, जनता समाजवादी पार्टीका २ जना र स्वतन्त्र सांसद दीपक मनाङे सहित ३१ जना सांसद प्रदेश प्रमुखको कार्यालय पुगेर पोखरेललाई मुख्यमन्त्री दाबी गर्दै हस्ताक्षर बुझाएका हुन् ।
पोखरेलले पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्न नसकेकोले बहुमतको सरकारका लागि दाबी गरेको पनि प्रष्ट्याए ।