मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री ओली, यी हुन् आज बन्न लागेका नयाँ मन्त्रिहरु

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदलाई पूर्णता दिने भएका छन् । १७ सदस्यीय मन्त्रिपरिषदमा ७ मन्त्री र एक राज्यमन्त्री थपेर पूर्णता दिन लागिएको हो। प्रधानमन्त्रीले उद्योग, वाणिज्य तथा आपूर्ति , कृषि तथा पशुपंक्षी विकास, गृह, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन र सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्न लागेका हुन् ।

गृह मन्त्रीमा खगराज अधिकारी नियुक्त हुन लागेका छन् । त्यस्तै नैनकला थापा- सञ्चार तथा सूचना प्रविधि मन्त्री, ज्वालाकुमारी साह- कृषि मन्त्री, नारदमुनी राना- वनमन्त्री, मोहन बाँनिया- विना विभागीय, राजकिशोर यादव-उद्योग मन्त्री, गणेश पहाडी- सामान्य प्रशासन मन्त्री र आशा बिक वन राज्यमन्त्री हुने स्रोतलेे बताएको छ । यसअघि उनले जेठ २१ गते जसपासमेतलाई समेटेर मन्त्रिमण्डल पुर्नगठन गरेका थिए ।

प्रधानमन्त्रीले बिहीबार विस्तार गर्न लागेको मन्त्रिमण्डलमा कास्कीका एमाले नेता खगराज अधिकारी गृहमन्त्री हुने भएका छन्। सांसद नरहेका तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सर्वोच्चको आदेशपछि पदमुक्त भएकाले जेठ दोस्रो सातादेखि गृह मन्त्रालय प्रधानमन्त्री ओलीले आफू मातहतमा राखेका थिए । त्यसपछि अब को गृहमन्त्री बन्छ भन्ने आमचासो थियो । आज गृहमन्त्रीको सपथ लिन लागेका अधिकारी यसअघि सुशील कोइराला प्रधानमन्त्री हुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्री थिए ।

२०६४ सालको संविधान सभा चुनावमा पराजित भएका अधिकारीले २०७० मा टिकट नै पाएका थिएनन्। लामो समय आफ्नो समूहमा रहेका अधिकारीलाई ओलीले नै कोइराला मन्त्रिपरिषदमा पठाएका हुन्। २०७४ मा कास्कीबाट चुनाव जितेलगत्तै उनी एमाले प्रमुख सचेतक बनेका थिए । नेकपा एकता भएपछि उनी हटेर देव गुरूङ प्रमुख सचेकत भएका हुन् ।

एमालेबाट मन्त्री भएकाहरु
विष्णु पौडेल, उपप्रधान तथा अर्थमन्त्री
रघुवीर महासेठ, उपप्रधानसहित परराष्ट्रमन्त्री
वसन्त नेम्वाङ, भौतिक पूर्वाधारमन्त्री
कृष्णगोपाल श्रेष्ठ, शिक्षामन्त्री
शेरबहादुर तामाङ, स्वास्थ्यमन्त्री
लीलानाथ श्रेष्ठ, कानुनमन्त्री
खगराज अधिकारी, गृहमन्त्री
नैनकला थापा, सञ्चारमन्त्री

जसपाबाट मन्त्री भएकाहरु
राजेन्द्र महतो, उपप्रधान तथा शहरी विकासमन्त्री
शरतसिंह भण्डारी, ऊर्जामन्त्री
अनिलकुमार झा, खानेपानीमन्त्री
राजकिशोर यादव, उद्दोगमन्त्री
लक्ष्मणलाल कर्ण, भूमिसुधारमन्त्री
विमल श्रीवास्तव, श्रममन्त्री
चन्दा चौधरी, महिला, बालबालिकामन्त्री
उमाशंकर अरगरिया, वनमन्त्री
एकवाल मियाँ, युवा तथा खेलकुदमन्त्री
चन्द्रकान्त चौधरी, ऊर्जा राज्यमन्त्री
रेणुका गुरुङ, महिला तथा बालबालिका राज्यमन्त्री