फ्रान्सका राष्ट्रपतिलाई गालामा चड्कन (भिडियोसहित)

एजेन्सी । फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंंलाई देशको दक्षिणपूर्वी क्षेत्रको भ्रमण गरिरहेका बेला गालामा चड्कन हानिएको छ । सामाजिक सञ्जालमा फैलिरहेको एक भिडिओमा भ्यालेन्स शहरबाहिरको क्षेत्रमा भ्रमणको बेला राष्ट्रपति म्याक्रों एक सुरक्षा तगारो राखिएको ठाउँमा मानिसहरूलाई भेट्न पुगेका थिए । त्यहाँ हरियो टि शर्ट लगाएका एक पुरुषले उनको मुहारमा चड्कन हान्छन् । त्यसलगत्तै सुरक्षाकर्मीहरूले राष्ट्रपतिलाई तानेर लैजान्छन् ।

फ्रान्सका सञ्चारमाध्यमहरूका अनुसार उक्त घटनापश्चात् दुईजना पुरुषलाई पक्राउ गरिएको छ । घटनापछि बोल्दै म्याक्रोंले यो घटनालाई एक असामान्य घटना भनेका छन् । ‘हामीले अति हिंस्रक मानिसहरूलाई सार्वजनिक बहसमाथि नियन्त्रण जमाउन दिनु हुँदैन । ती यसको लायक छैनन्’ उनले भने ।

उनले मुलुकको राजनीतिक वातावरण बिग्रिरहेको अस्वीकार गरेका छन् । म्याक्रोंका समर्थक र विपक्षी दुवैले उक्त घटनालाई लिएर आक्रोश व्यक्त गरिरहेका छन् । अर्को वर्षको चुनावमा म्याक्रोंको सम्भावित प्रतिस्पर्धी लोकप्रियतावादी नेतृ मारिन ल पेनले राष्ट्रपतिविरूद्धको हिंसा अस्वीकार्य रहेको बताइन् ।

एकजना कनिष्ठ आन्तरिक मामिला मन्त्रीले राष्ट्रपतिमाथिको चड्कन प्रत्येक फ्रान्सेली जनतामाथिको चड्कन भएको बताएका छन् । म्याक्रोंलाई चड्कन हान्ने पुरुष ‘मोँजुवा सान्ट डेनी’ भनेर चिच्च्याएका थिए । त्यो नारा फ्रान्सेली इतिहासका राजा शार्लामेनको समयसँग जोडिएको छ ।

चड्कन हानेको घटनापछि राष्ट्रपति म्याक्रों फेरि घटनास्थलमा पुगेर त्यहाँ रहेका मानिसहरूसँग हेलमेल गरिरहेको भिडिओमा देखिन्छ । हालसम्म चड्कन हान्ने पुरुषको परिचय र उनको नियत प्रस्ट भएको छैन । स्थानीय अधिकारीहरूका अनुसार उनी र अन्य एक व्यक्तिसँग प्रहरीले सोधपूछ गरिरहेको बताइएको छ ।

चड्कन हान्ने घटना लगत्तै त्यहाँ ठूलो सङ्ख्यामा सुरक्षाकर्मीहरु परिचालित भएको बिबिसीले जनाएको छ ।