खनाल- नेपालपक्षका १८ जनसंगठनले उपप्रधानमन्त्रीलाई अभिव्यक्ति तत्काल फिर्ता लिएर माफी माग्न अपिल

काठमाडौं । नेकपा (एमाले) को झलनाथ खनाल- माधवकुमार नेपालपक्षका १८ जनसंगठनले उपप्रधानमन्त्री राजेन्द्र महतोले संविधानविरोधी अभिव्यक्ति दिएको भन्दै तत्काल माफी माग्न उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोलाई आग्रह गरेका छन् । शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै ती संगठनले मन्त्री महतोको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शुक्रबार मन्त्रीको शपथ लिएकै दिन उनले आफू ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी’मा रहेको भन्ने अभिव्यक्ति दिएपछि विवादमा मुछिएका हुन् । यसैबीच आज पनि उनले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसै अनुसारको नियम, कानुन, संविधान र व्यवस्था हुनुपर्ने बताएका छन् ।

‘नेपाल सरकारका उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोले २१ जेठ २०७८ मा नेपालको संविधानअनुसार शपथ ग्रहणपछि पदभार ग्रहण गर्ने क्रममा दिनुभएको संविधान विरोधी अभिव्यक्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेतासमेत रहनुभएका उपप्रधानमन्त्री महतोले पदभार ग्रहण गर्ने क्रममा ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी’ गर्ने जानकारी दिनुभएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

उक्त अभिव्यक्ति नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानको विरुद्ध भएको ती संगठनको भनाइ छ। ‘यो अभिव्यक्ति हाम्रो संविधानको प्रस्तावना र संविधानको धारा-३ विपरीत छ। संविधानको मर्मविपरीत कुनै पनि काम नगर्ने शपथ खाएर संविधानको कार्यान्वयन गर्ने निकायमा पुगेको जिम्मेवार व्यक्तिबाट यस प्रकारको संविधानविरोधी र अराजक अभिव्यक्ति आउनु असाध्यै बिडम्बनापूर्ण छ। तसर्थ, संविधानको मूल मर्मविरुद्धमा आएको यस अभिव्यक्तिको घोर भर्त्सना गर्दै उपप्रधानमन्त्री महतोलाई तत्काल आफ्नो अभिव्यक्ति फिर्ता लिएर नेपाली जनतासँग माफी माग्न आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

हेर्नुहोस् विज्ञप्ति यस्तो छ-

नेकपा (एमाले) आबद्ध १८ जन संगठनको सामूहिक विज्ञप्ति

प्रेस विज्ञप्ति

मिति: २२ जेठ २०७८

नेपाल सरकारका उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोले २१ जेठ २०७८ मा नेपालको संविधान अनुसार शपथ ग्रहणपछि पदभार ग्रहण गर्ने क्रममा दिनु भएको संविधान विरोधी अभिव्यक्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता समेत रहनु भएका उपप्रधानमन्त्री महतोले पदभार ग्रहण गर्ने क्रममा ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी’ गर्ने जानकारी दिनु भएको छ ।

यो अभिव्यक्ति नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमान विरुद्धमा छ। यो अभिव्यक्ति हाम्रो संविधानको प्रस्तावना र संविधानको धारा-३ विपरित छ। संविधानको मर्म विपरित कुनै पनि काम नगर्ने शपथ खाएर संविधानको कार्यान्वयन गर्ने निकायमा पुगेको जिम्मेवार व्यक्तिबाट यस प्रकारको संविधान विरोधी र अराजक अभिव्यक्ति आउनु असाध्यै बिडम्बनापूर्ण छ। तसर्थ, संविधानको मुल मर्म विरुद्धमा आएको यस अभिव्यक्तिको घोर भत्र्सना गर्दै उपप्रधानमन्त्री महतोलाई तत्काल आफ्नो अभिव्यक्ति फिर्ता लिएर नेपाली जनतासँग माफी माग्न आग्रह गर्दछौं।

नेपालको संविधानको प्रस्तावनामा ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवद्र्धन’ गर्ने उल्लेखित छ। यसैगरी संविधानको धारा-३ मा प्रष्ट भनिएको छ, ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो।’

हामीलाई लाग्छ छ, ‘संविधानको यी मर्म र धाराहरुको बारेमा उपप्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्ति अबश्य पनि बेखबर हुनुहुन्न।’ पछिल्ला घटनाक्रम र गतिबिधिहरु हेर्दा यो अभिव्यक्ति ‘विविधताबीचको एकता, सहिष्णुता र सद्भाव बिथोलेर राष्ट्र विखण्डन गर्ने’ सचेत तर कुत्सित र दूषित मनसायबाट आएको हाम्रो ठहर छ । पछिल्ला घटनाक्रम र यो अभिव्यक्तिवीच गहिरो तालमेल रहेको बुझ्न कठिन छैन ।

हामीलाई लागेको थियो, आफ्नो मन्त्रिपरिषद्को उपप्रधानमन्त्री महतोबाट आएको यस प्रकारको संविधान विपरित अभिव्यक्तिपछि प्रधानमन्त्री केपी ओलीले ‘नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमान’को पक्षमा प्रतिबद्धता व्यक्त गर्नुहुनेछ। हामीलाई विश्वास थियो, ‘प्रधानमन्त्री ओली आफ्नो संविधानको मुल्य र संविधानप्रतिको आफ्ना पूर्व अडानहरुबाट बिचलित हुनु भएको छैन।’ तर यो मौनता र अनभिज्ञताले हाम्रो विश्वासलाई खण्डित गरिरहेको छ । यसप्रति हामी खेद प्रकट गर्न चहान्छौं ।

अन्तमा, नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमान रक्षाको निम्ती सचेत र जागैं रहन सम्पूर्ण नेपाली जनसमुदायसँग अपिल समेत गर्दछौं ।