
राउटे युवतीमाथि दुर्व्यवहार गरेको भिडियो सार्वजनिक, तीन युवक पक्राउ
सुर्खेत । राउटे समूदायकी युवतीलाई विभिन्न प्रलोभन देखाइ होटलमा लगी दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि संलग्न तीन युवक पक्राउ परेका हुन् ।
सामाजिक सञ्जालमा भिडियो फेला परेपछि सुर्खेतको गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षका भूपेन्द्र बुढा र २९ वर्षका विनोद पुनलाई पक्राउ गरिएो प्रहरीले जनाएको छ । पक्राउ परेका पुन होटल सञ्चालक हुन् । उनको होटलमा उनीसहित तीन जना युवाले राउटे समुदायकी युवतीहरूलाई लिएर आफू अर्धनग्न बनेर भिडिओ बनाएका थिए ।
उनीहरुले युवतीलाई मदिरा सेवन गराइ दुर्व्यवहार गरेका थिए । सार्वजनिक भिडियोमा राउटे युवतीले ‘आफूलाई डिस्टर्ब भएकोले बाहिर जान’ भनेकी छन् । ती युवाहरूले भने जबर्जस्ती भिडियोमा बोल्न लगाएका छन् । पक्राउ परेका उनीहरुमाथि आवश्यक छानविन गरी कारबाही गरिने सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । हाल राउटे समुदाय गुर्भाकोट नगरपालिका-११ आँपसोतीस्थित भेरी नदीको किनारामा बस्दै आएका छन् ।



