एमाले नेता तथा अर्थशास्त्री डा. थापाको कोरोनाबाट निधन
काठमाडौं । वरिष्ठ अर्थविद डा. गोविन्दबहादुर थापाको कोभिड–१९ संक्रमणका कारण निधन भएको छ । डा। थापाको बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारका क्रममा मंगलबार बिहान ६ः३० को समयमा निधन भएको हो । कोरोना संक्रमण देखिएपछि एक महिनाअघि अस्पताल भर्ना भएका थापालाई पछिल्लो १५ दिनदेखि भेन्टिलेटरमा राखिएको थियो ।
राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक थापा मनमोहन अधिकारी नेतृत्वको ९ महिने अल्पमत सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीका आर्थिक सल्लाहकार थिए । थापाले एसियाली विकास बैंकको मनिलास्थित कार्यालयमा आवासीय प्रतिनिधिका रुपमा समेत काम गरेका थिए । थापाले लामो समयदेखि नेपाली अर्थतन्त्रबारे राष्ट्रिय स्तरका पत्रपत्रिका र अनलाइन माध्यममा निरन्तर कलम चलाउँदै आएका थिए ।
अब्बल वामपन्थी अर्थशास्त्री थापा पछिल्लो समय थापा भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानमार्फत सामाजिक कार्यमा आवद्ध थिए । कास्कीका स्थायी बासिन्दा उनी हाल भने राजधानीको बसुन्धरामा बस्दै आएका थिए । थापाका श्रीमती, एक छोरा र एक छोरी छन् ।