बरिष्ठ नृत्यकार तथा संस्कृतिकर्मी मेनकाजी गुरुङको असमयिक निधन
पोखरा । बरिष्ठ नृत्यकार, कलाकर्मी तथा संस्कृतिकर्मी हिमाली सांस्कृतिक परिवारका अधक्ष्य मेनकाजी गुरुङको असमयिक निधन भएको छ । उनको उपचार क्रममा फिस्टेल अस्पताल पोखरामा गएराति ५८ वर्षको उमेरमा अकल्पनिय निधन भएको हो । ३ साता अघि नै कोरोना संक्रमणबाट मुक्त भए पनि उनमा मुटुको समस्या देखिएको थियो । मुटुमा समस्या देखिएपछि स्वर्गिय गुरुङलाई गत साता उपचारका लागि फिस्टेल अस्पतालमा भर्ना गरिएकोमा गएराति १ बजे निधन भएको परिवारजनले जनाएको छ ।
उनी लामो समयदेखि हिमाली सांस्कृतिक परिवारमा आबद्ध हुनुहुन्थ्यो । उहा पछिल्लो समय कला तथा संस्क्रिती संरक्षण र सम्बर्ध्दनमा लागिपरेका थिए । तमु धिं नेपालका सह–सचिव, गुरुङ फिल्म एशोसिएशन नेपाल (जिफान) का पुर्व सल्लाहकार समेत रहेका मेनकाजी मित्र राष्ट्र भारतको अलहाबाद विश्वविद्यालयबाट सास्त्रिय नृत्यमा डिप्लोमा समेत गरेका थिए । २०३८ सालमा भएको पहिलो राष्ट्रिय खेलकुद प्रतियोगिता र २०४० सालमा सम्पन्न दोश्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा नृत्यतर्फ स्वर्ण पदक विजेता मेनकाजीले प्रथम र दोश्रो अन्तर नगर नृत्यतर्फ समेत स्वर्ण पदक जितेका थिए । उनी गोर्खा दक्षिण बाहु चौथो, क्षेत्रिय राष्ट्रिय प्रतिभा पुरस्कार लगायत दर्जनौ सम्मानबाट विभुषित भएका थिए ।
कास्कीको सिक्लेस स्थायी घर भएका मेनकाजी गुरुङ पोखरा –१५, नयाँगाउँ बस्दै आएका थिए । पोखराको कला, संस्कृति संरक्षण र प्रवद्र्धनमा उनको ठूलो योगदान रहेको हिमाली सांस्कृतिक परिवारका संरक्षक नरबहादुर शेरचनले बताए ।
उनकी पत्नी मीरा गुरुङको कोरोना संक्रमणका कारण ३० वैशाखमा निधन भएको थियो । पत्नी गुमाएको २ सातामै मेनकाजीले मृत्यु भएको हो ।उनका १ छोरा र १ छोरी छन् ।