ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनको गोप्य समारोहमा प्रेमिकासँग विवाह

ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले प्रेमिका क्यारी साइमण्ड्ससँग वेस्टमिनस्टर गिर्जाघरमा एक गोप्य समारोहबीच विवाह गरेको समाचारहरूमा जनाइएको छ । पहिले नै कुरा छिनिसकिएको उनीहरू शनिवार निकट साथीहरू र परिवारको उपस्थितिमा विवाह भएको कयौँ पत्रपत्रिकाहरूले लेखेका छन् । प्रधानमन्त्री कार्यालयले भने यसबारे प्रतिक्रिया जनाउन अस्वीकार गरेको छ । काम र निर्वित्तिभरणसम्बन्धी मन्त्री टेरेज कोफी र नर्दन आयरल्याण्की प्रथम मन्त्री अर्लिन फोस्टरले ट्विट गर्दै उनीहरूको विवाहका लागि बधाई दिएका छन् ।

द मेल पत्रिकाले आइतवार लेखेको समाचारमा ३० अतिथिहरूलाई निकै छोटो समय दिएर निम्ता गरिएको जनाइएको छ । इङ्ग्ल्याण्डमा लगाइएका कोभिडका प्रतिबन्धका कारण त्यो उक्त समारोहमा सहभागी हुन पाउने अधिकतम सङ्ख्या हो । क्याथोलिक परम्परा अनुसार भएको विवाहको तयारीमा समेत गिर्जाघरका निकै कम कर्मचारीहरू सहभागी भएको उक्त पत्रिकाले जनाएको छ । द सन पत्रिकाले डाउनिङ स्ट्रीटका वरिष्ठ सहयोगीहरूलाई उक्त विवाहबारे थाहा नभएको जनाएको छ । उसले थप भनेको छ: “ब्रिटिश समय अनुसार दिउँसोको साढे १ बजेपछि सर्वसाधारणहरूलाई वेस्टमिनस्टर गिर्जाघर छाड्न भनिएको थियो ।”

त्यसको एक घण्टापछि ३३ वर्षीया साइमण्ड्स सेतो पहिरनमा प्रधानमन्त्रीसँग वैवाहिक प्रतिज्ञा साट्नका लागि एउटा विलासी कारमा गिर्जाघर पुगेकी थिइन् । शनिवार राति सङ्गीतकर्मीहरू नम्बर टेन भनिने प्रधानमन्त्रीको कार्यालय तथा सरकारी आवासबाट बाहिरिएको तस्बिरहरू खिचिएका छन् ।

सन् २०१९ को सुरुतिर सञ्चारमाध्यमहरूले साइमण्ड्स र जोनसनको प्रेम सम्बन्धबारे लेखेका थिए । गत वर्ष फेब्रुअरीमा उनीहरूले आफूहरूको स्वयंवर भएको र साइमण्ड्स गर्भवती रहेको खुलाएका थिए ।

उनीहरूले छोरो विलफ्रिड गत एप्रिलमा जन्मिएका थिए ।

स्रोत- बि.बि.सी नेपाली