योगेश भट्टराई र गोकर्ण विष्ट पुनः नेपाल समूहमा
काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्यहरु योगेश भट्टराई र गोकर्ण विष्टले आफूलाई पुनः पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्धको मोर्चामा उभ्याएका छन् । बुधबार माधवकुमार नेपाल तथा झलनाथ खनाल सहित १५ स्थायी कमिटी सदस्यले जारी गरेको विज्ञप्तिमा उनीहरुको समेत नाम समावेश छ । नेकपा (एमाले)का माधव नेपाल समूहका स्थायी कमिटी सदस्यहरूले अध्यक्ष केपी ओलीको प्रतिगमनविरुद्ध एकजुट हुन नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
योगेश भट्टराईसहित १५ स्थायी कमिटी सदस्यहरूले सामूहिक वक्तव्य जारी गर्दै ओलीका निरंकुश र प्रतिगामी कामकार्वाईका विरुद्ध एकता र सहकार्यका लागि सबै नागरिकलाई आह्वान गरेका हुन् । ‘केपी ओलीका पार्टीभित्र र देशमा गरिएका स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कार्यहरूका विरुद्ध सम्पूर्ण वामपन्थी र लोकतन्त्रवादी शक्तिहरूको एकताबद्ध संघर्ष र सहकार्य अपरिहार्य भएको छ । यसका लागि हामीहरु तत्परताका साथ आवश्यक पाइला चाल्न अग्रसर छौं । यस कार्यमा आ–आफ्नो ठाउँबाट एकता र दृढताका साथ केपी गुटका धाकधम्की, प्रलोभन र भ्रमलाई अस्वीकार गर्दै दृढताका साथ अघि बढ्न नेकपा (एमाले) का सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुमा हार्दिक आव्हान गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।