१४ जना न्यायाधीशबाट को-को जाँदैछन् संवैधानिक इजलासमा ?
काठमाडौं- मन्त्रिपरिषदको सिफरैमा मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद बिघटन गरेपछि विघटित संसदलाई पुनर्स्थापना गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई अदालतबाटै प्रधानमन्त्री घोषणा गर्न विपक्षी गठबन्धनले रिट दायर गरेपछि अहिले सबैको नजर सर्वोच्च अदालततिर छ । सर्वोच्चमा दर्ता भएको रिटमाथि पहिलो सुनुवाइको पेशी शुक्रबार तोकिएको छ। हरेक बुधबार र शुक्रबार संवैधानिक इजलासमा दर्ता भएका निवेदनको पहिलो सुनुवाइ गरिने कार्यविधि रहेपनि बुधबार सार्वजनिक बिदा परेकाले शुक्रबारलाई पेशी तोकिएको हो ।
शुक्रबार यो विवादमा पहिलो सुनुवाइ हुनेछ। संवैधानिक इजलासको रोस्टरमा हाल १४ जना न्यायाधीश रहेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले यहि रोस्टरबाट आफूसहित पाँचजना न्यायाधीशको इजलास तोक्न सक्नेछन । संवैधानिक इजलासको रोस्टरमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीले भने यो मुद्दा हेर्न मिल्दैन । अघिल्लोपटक प्रतिनिधि सभा विघटनको मुद्दामा उनले आफूलाई अलग राखेकाले यो विवादमा पनि उनी संलग्न हुने छैनन् । कार्की नहुने भएपछि अब १३ जना न्यायाधीश मध्येबाट चार जना राणाले आफ्नो टिममा सामेल गर्नेछन । प्रधानन्यायाधीश राणाले वरिष्ठताक्रम नामिचेको खण्डमा संवैधानिक इजलासको लागि दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई नयाँ संवैधानिक इजलासको सदस्य हुने देखिन्छ। तर पहिलेको आधारमा हेर्नेहो भने वरिष्ठताक्रम मिचिने देखिन्छ ।
पुस ५ गते संसद विघटन भएपछि सुनुवाइका लागि पुस १० गते प्रधानन्यायाधीश राणाको नेतृत्वमा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेको संवैधानिक इजलास गठन गरिएको थियो। तर गठन गरेपछि इजलास गठनप्रति प्रश्न उठेपछि न्यायाधीश हरिकृष्ण कार्की बाहिरिएका थिए । उनको सट्टामा न्यायाधीश सपना प्रधान मल्लले संवैधानिक इजलासमाइन्ट्री पाएकी थिइन् । अघिल्लोपटक संवैधानिक इजलासमा संलग्न भएका चार न्यायाधीशलाई तोक्ने कि नतोक्ने प्रधानन्यायाधीशको अधिकारभित्र पर्नेछ । तर उनीहरूले आफ्नो राय अघिल्लो पटक नै राखेकाले इजलासमा नबस्ने घोषणा ती न्यायाधीशहरूले गर्नसक्ने बताइन्छ । यदि यस्तो भएको खण्डमा सुनुवाइ फेरि सर्नेछ र प्रधानन्यायाधीशले अर्को दिन नयाँ न्यायाधीशसहितको इजलास गठन गर्नेछन्।
प्रधानन्यायाधीशले नयाँ तोक्न चाहेमा तोकिने न्यायाधीशमा दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ र टंक मोक्तान रहने छन् ।