इराक पुग्याे नेपाली फुटबल टिम

नेपाली फुटबल टिम इराकसँगको मैत्रीपुर्ण खेलका लागि पुगेको छ । मंगलबार राती त्रिभुवन विमानस्थलबाट उडेको नेपाली टिम बुधबार दिउँसो इराक पुगेको हो । नेपाली टिम कतार एयरवेजको विमानबाट दोहा हुँदै इराक उत्रिएको हो । २३ खेलाडी र १२ अफिसियलसहितको टिमले शनिबार इराकसँग बसारा रंगशालामा मैत्रीपुर्ण खेल खेल्न लागेको हो ।

नेपालले इराकसँग करिव एक दशकपछि फुटबल खेल्न लागेको हो । मैत्रीपुर्ण खेल खेलेका अर्को दिन नेपाली टिम सडकको बाटो हुँदै फिफा विश्वकप छनौटका लागि कुवेत जानेछ । त्यहाँ नेपाली टिमले जुन तीनमा चाइनीज ताइपेई, जुन सातमा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ । त्यसपछि नेपाली टिम जुन १२ मा स्वदेश फर्किनेछ ।

विश्वकप छनौटमा नेपालले पाँच खेलमा एक खेल जितेको छ ।