भारतले भन्याे- यो नेपालकाे आन्तरिक मामिला हो
भारतले नेपालको पछिल्लो राजनीतिक विकासक्रम आन्तरिक मामिला हो भनेको छ । प्रधानमन्त्री केपी ओलीले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि उत्पन्न भएको संसद् विघटनलगायतको परिस्थितिलाई जानकारीमा लिएको र यो नेपालको आन्तरिक मामिला भएको टिप्पणी गरेको छ ।
भारतीय विदेश मन्त्रालय अरिन्दम बाग्चीले पत्रकारहरूद्वारा नेपालमा विकसित राजनीतिक घटनाक्रमबारे सोधिएको प्रश्नबारे आज सार्वजनिक गरेको जवाफमा यस्तो प्रतिक्रिया जनाएक हुन् । गत ५ पुसमा संसद् विघटनपछि पनि भारतले यस्तै ढाँचाको औपचारिक कूटनीतिक टिप्पणी गरेको थियो ।
‘नेपालमा हालैका राजनीतिक घटनाक्रमहरूलाई हामीले जानकारी (नोट)मा लिएका छौँ । त्यसलाई नेपालको आफ्नो आन्तरिक ढाँचा र लोकतान्त्रिक प्रक्रियाबाट डिल गरिनेछ भन्ने दृष्टिकोण राख्दछौँ,’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले भनेका छन्, ‘भारत छिमेकी र मित्रका रूपमा नेपाल र नेपाली जनतालाई प्रगति, शान्ति, स्थायित्व र विकासको यात्रामा सहयोग गर्नमा प्रतिबद्ध छ ।’
नेपालका लागि पूर्वभारतीय राजदूत रणजित रायलगायत बुद्धिजीवीहरूले नेपालको घटनाक्रमलाई निरंकुशतातर्फको यात्रा भन्दै भारतले विरोध गर्नुपर्ने टिप्पणी गरिरहेका वेला भारतले तटस्थ प्रतिक्रिया जनाएको हो ।