साम्प्रदायिकता भड्काउन खोजेको भन्दै युवाहरुद्वारा वीरगञ्जमा भीम रावलको पुत्ला दहन
वीरगञ्ज । भ्रमपूर्ण प्रचार गरी साम्प्रदायिकता भड्काउन खोजेको आरोपमा स्थानीयले वीरगञ्जमा पूर्व एमाले नेता भीम रावलको पुत्ला दहन गरेका छन् । युवा नेता अमिताभ बचन दासको नेतृत्वमा रहेका युवाहरुले नेता रावलको पुत्ला दहन गरेका हुन् ।
उनले भने, ‘नेपालको संविधानको भाग २ को धारा १० (१) मा ‘कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन ।’ भन्ने स्पष्ट संवैधानिक व्यवस्थाको वावजुद पनि नागरिकता प्राप्त गर्न योग्य आफ्नै देशका लाखौं-लाख युवा-युवतीहरुलाई विभिन्न वहाना र जालझेलको आडमा अनागरिक बनाईं राख्ने षड्यंत्र विफल पार्न आएको नागरिकता अध्यादेशको विरोध गर्नेहरु मधेश विरोधी हुन्।’
विरगंजका सचेत, जागरूक एवं क्रान्तिकारी युवाहरुले नेता रावलको पुत्ला दहन गरेका हुन् । नेपाली नागरिकता प्राप्त नागरिकका सन्तानलाई नागरिकता दिने उद्देश्यले आएको अध्यादेशलाई अनुचित ढंगबाट विवादित एवं बदनाम गराउन तराई-मधेशमा नागरिकताको पसल खुल्यो, सिक्किमीकरण र फिजिकरण हुने भयो भनेर अर्नगल दुष्प्रचारको हर्कत राष्ट्रवाद होकी देश र जनतप्रतिको घात सबैले समयमैं बुझ्न जरूरी रहेको दासले बताए ।
लाखौँ नागरिक राज्य विहीनता महशुस गरिरहेको अवस्थामा सरकारले नागरिकता सम्बन्धी समस्या समाधान गर्न ल्याएको नागरिकता अध्यादेशबारे भ्रमपूर्ण कुरा गरेर रावलले सम्प्रदायिकता भडकाउन खोजेको उनीहरुको आरोप छ । नेता रावलले सामाजिक सञ्जालमा वीरगञ्जमा नागरिकता लिन भारतीयहरूको भीड लागेको समाचार आयो भन्दै ट्वीट गरेका थिए । उक्त ट्वीटको आलोचना भएपछि उनले हटाएका थिए ।