प्रधानन्यायाधीशबारे समाचार लेख्ने पत्रकारलाई माफी माग्न सर्वोच्चको दबाब

काठमाडौं । प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच भेटको समाचार लेख्ने सञ्चारमाध्यमका सम्पादकलाई सर्वोच्च अदालतले स्रोत खुलाउन र माफी माग्न आग्रह गरेको छ । मंगलबार दिउँसो समाचारको विषयमा छलफल गर्न बोलाएर सर्वोच्च अदालतका रजिस्ट्रार नारायण पन्थीले स्रोत पुष्टि गर्न र माफी माग्न आग्रह गरेकाे इमेज च्यानलका सम्पादक राजन कुइँकेलले बताए ।

‘समाचारको स्रोत आधार प्रमाणसहित पेश गर्न र क्षमा माग्न आग्रह गर्नुभयो, हामीले दुवै कुरा हुन सक्दैन, यो कल्पना भन्दा बाहिरको कुरा हो, यो संस्थाबाट त्यस्तो माग हुनु नै दुखद कुरा हो भन्यौं’ उनले भने । प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबीच भेट भएको भनी समाचार लेखेको विषयलाई लिएर सर्वोच्चले नेपाल समय डटकमका प्रधान सम्पादक नारायण अमृत र इमेज च्यानलका सम्पादक कुइँकेललाई बोलाएको थियो ।

उनीहरुसँगै नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोसन पुरी पनि सर्वोच्च पुगेका थिए । नेपाल समय डटकमका प्रधानसम्पादक नारायण अमृतले समाचारको विषयलाई लिएर माफी माग्न आग्रह गरेकाे र आफूहरुले अस्वीकार गरेको बताए । ‘मुखै फोरेर माफी माग्नुपर्छ भने, हामीले माफी मागिन्न, हाम्रो समाचारमा हामी अडिग छौं, तपाईंहरु खण्डन पठाउनुस्, विधि पद्धति र प्रक्रियाले जे भन्छ हामी त्यही गर्छौं भन्यौं’ उनले भने ।

छलफलपछि रजिस्ट्रार पन्थीले सर्वोच्च अदालतको मर्यादा, संवेदनशीलतामा ध्यान पुर्‍याइदिन आग्रह गरेका र आफूहरुले संस्थाको मर्यादामा असर पुर्याउने उद्देश्य नराखेको बताएको इमेजका सम्पादक कुइँकेलले बताए । छलफलमा सहभागी भएका नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीले समाचारको विषयलाई लिएर सर्वोच्च अदालतले छलफलमा बोलाउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध भएको बताए ।

‘प्रकाशित/प्रसारित समाचारको विषयमा चित्त नबुझे या गुनासो रहे त्यसउपर कानूनी उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति छ । त्यसलाई बेवास्ता गर्दै मुलुकको न्यायपालिकाको सर्वोच्च संस्था सर्वोच्च अदालतबाट पत्रकारलाई बोलाएर सोधपुछ गरिनु प्रेस स्वतन्त्रता विरोधी कार्य हो’ उनले विज्ञप्तिमार्फत भनेका छन् ।

भेट भएको छैन : सर्वोच्च

सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीसँग हालै भेट नगरेको स्पष्टीकरण दिएको छ । मंगलबार सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले विज्ञप्ति जारी गरी प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको भनी सञ्चारमाध्यममा आएको समाचारमा सत्यता नरहेको बताएका छन् ।

विज्ञप्तिमा स्वतन्त्र, निष्पक्ष, सुदृढ र सक्षम न्यायपालिका एवं विधिको शासनको सुनिश्चितता तथा न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धिमा सर्वोच्च अदालत सदैव गम्भीर, सचेत र संवेदनशील एवं पूर्ण प्रतिबद्ध रहेको पनि उल्लेख गरिएको छ । जेठ १० गते प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश जबराबीच प्रधानमन्त्री निवासमा भेट भएको समाचार सार्वजनिक भएका थिए । सर्वोच्चले समाचार असत्य भन्दै यसले न्यायपालिकाको स्वच्छता र यसप्रतिको आस्था र विश्वासमा प्रतिकूल प्रभाव पार्ने बताएको छ ।