वाग्मती प्रदेश सांसदले बुझाएको स्पष्टीकरण यस्तो छ (पूर्णपाठ)
काठमाडौं । वाग्मती प्रदेशका एमालेका १४ जना सांसदहरूले संसदीय दल बोर्डले सोधेको स्पष्टीकरणको जवाफ बुझाएका छन् । उनीहरूलाई जेठ ६ गते दलको ह्विप उल्लंघन गर्दै डा. खिमलाल देवकोटाको पक्षमा मतदान गरेको आरोपसहित स्पष्टीकरण सोधिएको थियो । एमाले पूर्वउपाध्यक्ष अष्टलक्ष्मी शाक्य, पूर्वपोलिटब्युरो सदस्य अरूण नेपालसहित १४ जनाले आइतबार स्पष्टीकरण पत्र बुझाएका हुन् । सबैले एउटै व्यहोरोका स्पष्टीकरण पत्र बुझाएको प्रदेश सांसद रचना खड्काले जानकारी दिइन् ।
स्पष्टीकरण पत्रमा राष्ट्रिय सभाको सदस्यका लागि भएको उपनिर्वाचनमा कसले कसलाई मतदान गर्यो भन्ने कुरा पूर्वानुमान गर्दै जवाफ मागिनु गैरकानूनी र अलोकतान्त्रिक रहेको ठहर गरिएको छ । “यस्तो प्रश्न नै पूर्वाग्रह र दुराशययुक्त छ । कुनै पनि मतदातलाई कुन उम्मेदवारको पक्षमा मतदान गरिएको हो भनी सोध्ने अधिकार कानूनले कसैलाई पनि दिएको छैन । अतः यस्तो प्रश्न आफैँमा अनुचित छ । अनुचित प्रश्न सोधेर अनुशासन बिरोधी करार गर्न खोज्नु आफैमा गलत कार्य हो,” उनीहरूले जवाफ दिएका छन् ।