प्रतिनिधि सभा विघटनविरुद्ध बिपक्षी गठबन्धनको बैठक बस्दै, आन्दोलन तथा रिट

काठमाडौं । प्रतिनिधि सभा विघटनको विरुद्धमा रणनीति बनाउन आज नयाँ बानेश्वरमा सर्वदलीय बैठक बस्ने भएको छ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केही बेरमा बैठक बानेश्वरस्थित संसद भवनमा बस्ने जानकारी दिए । बैठक ११ बजे बस्न लागेको हो ।

बैठकमा पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेका १४९ जनाको समर्थनमा रिट दिनेबारेमा छलफल गर्ने र कार्यक्रम बनाउने पौडेलले बताए। प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले कानुनी र राजनीतिक दुबै लडाई लड्नेसमेत उनले बताए। ‘अहिले बानेश्वरमा सार्वदलीय बैठक गर्ने। सबै १४९ जना सांसदको रायअनुसार रिट दिने कुरामा छलफल गर्ने कदमविरुद्ध कानुनी र राजनीतिक दुबै लडाई लड्न,’ पौडेलले भने ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै निर्वाचनसमेत घोषणा गरेका छन्। यस कदमको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एमालेको माधव नेपाल पक्षले चर्को विरोध जनाएका छन् ।

त्यस्तै प्रतिनिधिसभा विघटन र अर्ली चुनाव घोषणाविरुद्ध विपक्षी गठबन्धनले आन्दोलन गर्ने भएको छ । अहिले बिहान ११ बजे संयुक्त बैठक बसेर थप रणनीति तय गर्ने तयारी भएको एक नेताले जानकारी दिए ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेको असन्तुष्ट पक्षसहितको सर्वपक्षीय बैठक बस्न लागेको बताइएको छ ।

बैठक संसद् भवनको ल्होत्से हलमा बस्न लागेको ती नेताले जानकारी दिए ।

राष्ट्रपतिले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी गठबन्धनकातर्फबाट शेरबहादुर देउवाले प्रस्तुत गरेको दाबी विधिसम्मत नभएको भन्दै खारेज गरेकी थिइन् । र, मन्त्रिपरिषद् बैठकको सिफारिसमा अर्ली इलेक्सन घोषणा गरेकी थिइन् । त्यसविरुद्ध विपक्षमा रहेका सबै राजनीतिक दलको धारणा आइसकेको छ । थप योजना बनाउन उनीहरू छलफलमा जुट्न लागेका हुन् ।