पछी परेनन तमु समाज यूके, कम्तीमा पनि ५ लाख आर्थिक सहयोग गर्ने
लण्डन । नेपालको बर्तमान स्वास्थ्य संकटमा सहयोग गर्न बेलायत स्थित बिभिन्न संघसंस्थाहरुले पहल गरिरहँदा गुरुङहरुको (तमुहरुको) अर्को ठुलो संस्था तमु समाज यूकेले पनि सहयोगको लागि पहल गरीरहेको कुरा समाजको अधक्ष्य शिव चन्द्र गुरुङले खबर यूकेलाई जानकारी गराउनुभएको छ । अधक्ष्य गुरुङको अनुसार गत मे १८ तारिख समाजले आपतकालिन बैठक बोलाई नेपालको बिद्यामान स्वास्थ्य संकटको बेला कसरी सहयोग गर्न सकिन्छ भनी छलफल गरेको थियो ।
छलफल कार्यक्रममा यस्तै दु:ख अनि आपत बिपत परेको बेलामा नै सहयोग गर्ने हो र गर्नुपर्दछ भनी उपस्थित सबै सदस्यहरुले सहमती जनाए र यथाशिघ्र पहल गर्ने भनी सहमती भयो । जस अनुसार तमु समाज यूकेले कम्तीमा पनि ५ लाख नगद वा सो बराबरको स्वास्थ्य सामग्री नेपाललाई सहयोग गर्ने निर्णय गरियो । सोही निर्णय बमोजिम समाजले आर्थिक सहयोग संकलन गर्दैछ र हालसम्म ३६ सय पाउन्ड आर्थिक सहयोग रकम जम्मा भइसकेको कुरा अधक्ष्य गुरुङले खबर यूकेलाई अबगत गराउनुभयो । अधक्ष्य गुरुङको अनुसार आर्थिक सहयोग रकम सन्कलन कार्य दुई हप्तालाई जारी राख्ने र उठेको सहयोग रकम पछी समाजको बैठक बसेर नेपालमा उपयुक्त संस्थालाई उक्त सहयोग रकम प्रदान गरिने कुरा जानकारी गराउनुभयो ।
बेलायतका अन्य नेपाली संस्थाहरुले जस्तै तमु समाज यूकेले पनि नेपाल हुने प्राय दु:ख अनि आपतबिपतमा सहयोग गर्दै आएको छ । अधक्ष्य शिव चन्द्र गुरुङले यतिखेर नेपालमा बढेको कोरोना सन्क्रमणका कारण स्वास्थ्य स्थिती जटील अनि भयबह भएकोले सबैले सकेको सहयोग गर्न अह्वान गर्नुभयो । साथै उहाले यस बिषम परिस्थितीमा सबैलाई सतर्क अनि सुरक्षीत हुन अनुरोध गर्नुभयो ।