माधव नेपाल समूहका २७ सहित देउवालाई १४९ सांसदको समर्थन
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा वैकल्पिक सरकार गठन गर्न नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका २७ सांसदले समेत हस्ताक्षर गरेका छन् । नेपाली कांग्रेसका नेता गगन थापाले माधवकुमार नेपाल समूहका २७ सांसद्समेत गरी देउवालाई सरकार गठन गर्न १४९ सांसदको समर्थन रहेको बताए । सांसदहरूको हस्ताक्षर लिएर देउवा राष्ट्रपतिसमक्ष संविधानको धारा ७६ (५) अनुसारको सरकार गठनको दाबी गर्न शीतल निवास पुगेकाे कांग्रेस नेता पूर्णबहादुर खड्काले इकागजलाई बताए ।
अधिवक्ता टीकाराम भट्टराईका अनुसार संविधानकाे धारा ७६ (५) ले दलीय हाेइन व्यक्ति सांसद्लाई चिन्दछ । यसमा दलीय ह्वीप लाग्दैन । विश्वासको मत लिने फरक कुरा हाे । धारा ७६ काे ५ उपधारा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्ने संविधानमा छ ।
देउवालाई माओवादी केन्द्रसहित, जनता समाजवादी पार्टीका उपेन्द्र यादव समूह र माधवकुमार नेपाल समूहका सांसदहरूको समर्थन रहेको बताइएको छ ।