सांसदहरुको हस्ताक्षर लिएर ओलीसँगै ठाकुर पुगे मध्यरातमा शीतल निवास
काठमाण्डौ । जसपाका अध्यक्ष महन्थ ठाकुर अहिले राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । मध्यरातमा प्रधानमन्त्री केपी शर्मा ओलीको साथमा जसपा अध्यक्ष ठाकुरसँगै वरिष्ठ नेता राजेन्द्र महतो समेत शीतल निवास पुगेका हुन् । नयाँ सरकार बनाउन नेकपा एमाले र जसपा सांसदहरूको सहमति रहेको हस्ताक्षर सहितको लिखित पत्र लिएर उनीहरु शीतल निवास पुगेको जसपा स्रोतले बताएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आजै राति संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री नियुक्ति प्रक्रिया सुरु गर्न आह्वान गरेकी थिइन् । प्रधानमन्त्री केपी ओलीको आग्रह अनुसार राष्ट्रपतिले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आह्वान गरेकी हुन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा शुक्रबार साँझ ५ बजेभित्र प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न राष्ट्रपतिले आह्वान गरेको उल्लेख गरिएको छ । त्यसअघि नै सरकार बनाउने गरी फेरि एमाले र जसपाको दौडधुप देखिएको हो ।