राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा गठबन्धनका उमेदवार डा. खिमलाल देवकोटा विजयी, कसले कती मत पाए ?

काठमाडौं । वाग्मती प्रदेशअन्तर्गत आज भएको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा गठबन्धनका उमेदवार डा. खिमलाल देवकोटा विजयी भएका छन् । कलम चिह्न लिएर नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा)को मोर्चाबाट उमेदवार बनेका देवकोटा विजयी भएका हुन् । उनले नेकपा (एमाले)का उमेदवार रामबहादुर थापा ‘बादल’लाई पराजित गरे । गठबन्धनका उमेदवार देवकोटाले प्रदेशमा ५८ मत पाए । त्यस्तै, बादलले ४५ र तामाङले २ मत पाए । उनीहरुको मतभार क्रमशः दुई हजार ७४४, दुई हजार १६० र ९६ हुन्छ ।

स्थानीय तहमा देवकोटाले १२८, बादलले १०३ र तामाङले दुई मत पाएका छन् । उनीहरुको मतभार बादलको एक हजार ८५४, देवकोटाको दुई हजार ३०४ र तमाङको मतभार ३६ हुन्छ । उपनिर्वाचनमा देवकोटाले पाँच हजार ०८८ मतभार ल्याएर विजयी भएका छन् भने बादलले चार हजार ०१४ मतभार पाए ।

आज भएको उनिर्वाचनमा ३४८ जनाले मत हालेका थिए । जसमा प्रदेशसभाका १०५ र स्थानीय तहका गाउँपालिका अध्यक्ष, उपाध्याक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख २३३ जनाले मतदान गरे । जसमा २५ जना कोरोना संक्रमित मतदाताले मतदान गरेका थिए । वाग्मतीमा प्रदेशसभातर्फ ११० र स्थानीयतर्फ २३८ गरी ३४८ मतदाता थिए । जसमा प्रदेशसभा सदस्य पशुपति चौलागाईंको मृत्यु भएको थियो । त्यस्तै, तीन प्रदेशसभा सदस्य रहेको विवेकशील साझा पार्टीले भने मतदनामा सहभागी नहुने निर्णय गरेको थियो ।