इङलिस प्रिमियरमा शीर्ष चार स्थानको लागि प्रतिस्पर्धा रोचक मोडमा

इङलिस प्रिमियर लिगमा शीर्ष चारको होड रोमाञ्‍चक स्थितिमा पुगेको छ । म्यानचेस्टर युनाइटेडले दोस्रो स्थानमाथि पकड बनाएसँगै तेस्रो र चौथो स्थानका लागि तीन क्लबबीच प्रतिस्पर्धा चलिरहेको छ । गत राती बर्नलीलाई ३-० पराजित गरे पछि लिभरपुल चौथौ स्थानमा उक्लेको छ । लिभरपुलले ३७ खेलबाट ६६ अंक छ । सामान अंक पनि गोल अन्तरका आधारमा लेस्टर पाँचौ स्थानमा झरेको छ । तेस्रो स्थानमा रहेको चेल्सीको ६७ अंक छ ।

प्रिमियर लिगमा सबै टिमले एक-एक खेल खेल्न बाँकी छ । चेल्सीले एस्टन भिल्लाको सामना गर्दैछ । त्यही दिन लिभरपुल क्रिस्टल प्यालेससँग खेल्दैछ भने लेस्टर सिटी र टोटनहम भिड्दैछन् । चेल्सीले भिल्लालाई हराए स्वतः तेस्रो स्थानमा रहँदै च्याम्पियन्स लिगका लागि छनौट हुनेछ । लिभरपुल र लेस्टरको नतिजाले चेल्सीलाई फरक पर्ने छैन ।

तर भिल्लासँग बराबरीमा रोकिए वा हार ब्यहोरे चेल्सीको शीर्ष चारमा पर्ने लक्ष्य लिभरपुल र लेस्टरको नतिजामा भर पर्नेछ । लिभरपुल वा लेस्टरले आफ्नो खेलमा अंक गुमाए वा पराजय ब्यहोरे, चेल्सी शीर्ष चारमा पर्नेछ । यदि चेल्सी पराजित भयो र लिभरपुल अनि लेस्टरले बराबरी खेले, गोल भिन्नताका आधारमा तेस्रो र चौथो स्थानमा पर्ने टिमको निर्क्यौल हुनेछ ।

शीर्ष चारमा नपरे पनि चेल्सीको च्याम्पियन्स लिगमा पर्ने सम्भावना जिवितै रहनेछ । तर त्यसका लागि आउँदो मे २९ मा म्यानचेस्टर सिटीविरुद्धको च्याम्पियन्स लिग फाइनल चेल्सीले जित्नुपर्नेछ ।