गण्डकी प्रदेशको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठक : ३ मन्त्रालय थपिँदै
पोखरा । बुधवार गण्डकी प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बसेको छ । बुधवार पुनः नियुक्त भएका मन्त्रीहरुले शपथ खाएलगत्तै मन्त्रिपरिषद् बैठक बसेको हो । प्रदेशमा विस्तार भएको नयाँ मन्त्रीमण्डलको पहिलो बैठकले सरकारको प्रवक्तामा रामशरण बस्नेतलाई नै राखेको हो । प्रवक्ता बस्नेतका अनुसार आजको बैठकले पश्चिमाञ्चल क्षेत्रिय अस्पताललाई कोभिड अस्पताल बनाउन सरकारलाई सिफारिस गरेको छ ।
प्रवक्ता बस्नेतका अनुसार आजको बैठकले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा गिरधारि शर्मा र सदस्यमा विष्णुराज बराललाई नियुक्त गरेको छ । त्यस्तै, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको राजनीतिक सल्लाहकारमा डा भीष्म अधिकारीलाई नियुक्त गरिएको छ । लमजुङ सुन्दरबजारका अधिकारीको नियुक्ति हुनु अगाडि सल्लाहकार गोविन्दबहादुर नेपाली थिए । आज बैठकले प्रदेशको मन्त्रालय फेरबदल गर्ने र संख्या बढाउने निर्णय समेत गरेको छ । केहि मन्त्रालयहरु फेरबदल गर्ने र यसमा चाहिँ संख्या यतिनै भन्दापनि केही संख्या बढाउने भएका छौँ, बस्नेतले भने ।
प्रदेशमा यसअगाडि ७ मन्त्रालय थियो । अविश्वास प्रस्ताव झेलिरहेका मुख्यमन्त्री गुरुङले सत्ता जोगाउन बैशाख १६ गते राजीव गुरुङ (दीपक मनाङे)लाई युवा तथा खेलकुद मन्त्री बनाएका थिए । गुरुङले सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालयमन्त्री मनाङेलाई बनाएकासँगै ८ मन्त्रालय पुगेको थियो ।
प्रदेश सरकारले थप ३ मन्त्रालय थपेर प्रदेशमा ११ मन्त्रालय बनाउँदै छ । सामाजिक विकास मन्त्रालयलाई टुक्र्याएर स्वास्थ्य मन्त्रालय बनाउन लागिएको हो । यस्तै, भौतिक पूर्वाधार विकास र उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालायलाई पनि टुक्राइने भएको छ ।
गण्डकी मन्त्रिपरिषद् पहिलो बैठक : मन्त्रालय थप्ने गरी नियमावली संशोधन
त्यस्तै गण्डकी प्रदेशको बुधबार बसेको पहिलो मन्त्रिपरिषदको बैठकले प्रदेश सरकारको कार्य विभाजन नियमावली २०७४ लाई संशोधन गरेको छ । प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतका अनुसार मन्त्रालय संख्या थप गर्न उक्त नियमावलीमा आवश्यक संशोधन गरिएको हो । बस्नेतलाई आज बसेको मन्त्रिपरिषद् बैठकले प्रवक्ता नियुक्त गरेको हो। उनी यसअघि पनि सरकारका प्रवक्ता थिए ।
‘पहिले मुख्यमन्त्री कार्यालयसहित गण्डकीमा सात मन्त्रालय थियो। बीचमा हामीले एक मन्त्रालय थप गरेका थियौँ । केही मन्त्रालय फेरबदल गर्नुपर्ने र अहिले केही मन्त्रालय थप गर्ने गरी तयारी भएकाले उक्त नियमावली संशोधन गरिएको हो’, मन्त्री बस्नेतले भने । बस्नेतका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोभिड अस्पताल बनाउन संघ सरकारलाई सिफरिस गर्ने निर्णय भएको छ । यस्तै बैठकले मुख्यमन्त्रीका राजनीतिक सल्लाहकारमा लमजुङका डा भीष्म अधिकारी र योजना आयोगका उपाध्यक्षमा डा गिरधारी शर्मा पौडेल र सदस्यमा विष्णु बराल नियुक्त गरेको छ ।
बुधबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद विस्तार गरेपछि आज अपराह्न ३ बजे प्रदेश प्रमुख सीताकुमारी पौडेलले निवासमा नवनियुक्त चार मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएकी थिइन् । यसअघिको सरकारमा सहभागी एमालेका किरण गुरुङ (अर्थ मन्त्रालय), रामशरण बस्नेत (भौतिक पूर्वाधार), नरदेवी पुन (सामाजिक विकास) र विकास लम्साललाई (उद्योग, पर्यटन वन तथा वातावरण) नै मुख्यमन्त्रीले निरन्तरता पाएका छन् । स्वतन्त्र निर्वाचित सांसद दीपक मनाङ्गे पनि युवा तथा खेलकुद मन्त्रीमा दोहोरिएका छन् ।
अर्थ मन्त्रालयको जिम्मेवारी किरण गुरुङले नै लिएका छन् । रामशरण बस्नेत, नरदेवी पुन र विकास लम्सालको मन्त्रालय तोकिएको छैन । प्रवक्ता बस्नेत भन्छन्, ‘केही मन्त्रालय थप गर्ने गरी तयारी भएको छ । ककसले कुन मन्त्रालयको जिम्मेवारी पाउने भन्ने कुरा भोलिसम्म निर्णय हुन्छ ।’