बेलायतका सामाजिक आगुवाहरुद्वारा नेपाललाई अक्सीजन सहयोग गर्न बेलायत सरकारलाई अनुरोध

लन्डन । बेलायतका चर्चित तथा सफल सामाजिक आगुवाहरु र नेपालका मित्रहरुले नेपालमा हाल बिद्यामान स्वास्थ्य परिस्थितीको मनन गर्दै ५० बढी सुपरिचित व्यक्तित्वहरुले बेलायत सरकारलाई नेपालमा अक्सिजन लगायत अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन अपिल गरेका छन् । बिगतमा पनि गोरखाहरुलाई बिशेष सहयोग गर्दै आउनुभएका चर्चित अभिनेत्री जोआना लम्ले, बेलायती वैज्ञानिक, प्राज्ञिक व्यक्तित्व, आरोही, गोर्खा र नेपालका निकट मित्रहरुले बेलायती विदेश मन्त्री डोमिनिक राबलाई एक खुल्ला पत्र लेख्दै कोभिड १९ का कारण स्वास्थ्य संकट झेलिरहेको नेपालमा अक्सिजनसहित आपतकालिन औषधि सहयोग गर्न माग गरेका हुन ।

अभिनेत्री लुम्ले, सर माइकल पालिन, सर क्रिस बोनिंगटन, ब्रिटिश जनस्वास्थ्य विज्ञ तथा खोप अनुसन्धाता सर जेरेमी फरार, सराह गिल्बर्ट, एन्ड्रियू पोलार्ड, निकोलस हवाइट, एड्रियन हिल, पिटर होर्बी, फिलिप गुरिन, एलेन टाउनसेन्ड, स्याण्डी डगलस, पांच जिवित भिसी विजेतामध्ये एक क्याप्टेन रामबहादुर लिम्बु लगायतले ‘चेन्जडट ओआर्जी’ अनलाइन पिटिसनमार्फत याचिका गर्दै हस्तक्षर कार्यक्रममार्फत नेपाललाई तत्काल सहयोग गर्न ब्रिटिश सरकारलाई अपिल गरेका कोभिड एलाइन्स फर नेपाल यूकेले जनाएको छ ।

पर्वतारोही, ब्रोडकास्टर्स, फिल्म निर्माता, सैनिक, लेखक र प्राध्यापकहरु पनि यस अभियानमा जोडिएका छन् । हस्ताक्षरकर्ताहरुले ब्रिटिश सरकारलाई तत्काल अतिआवश्यक अक्सिजन सामग्री र अन्य औषधि सहयोग गर्न अपिल गरेका छन् । “बेलायत र नेपालबीच शताब्दीऔदेखी पृथक द्वत्य सम्बन्ध छ । हामी पुरानो मित्रराष्ट्रको दुःखमा एकसाथ हुने बेला आएको छ,” पत्रमा भनिएको छ ।

सर क्रिस बोनिङटनले भनेका छन्, “म आफैंले देखेको छु कि नेपालको पहाडी भेगबाट आएका नेपालीले ब्रिटेनका लागि वर्षौंदेखि कति योगदान गरेका छन् भनेर । मलाई आशा छ नेपालीको दुःखमा बेलायत सरकारले सहयोग गर्ने छ ।” त्यस्तै बेलायतको लिड्स विश्वविद्यालयमा अन्तरराष्ट्रिय कानूनका प्राध्यापक डा सूर्य सुवेदीले भने,” नेपाल परम्परागत रुपमै ब्रिटेनको सहयोगी मुलुक हो । म नेपालले संकट व्यहोरिरहेको यो बेला बेलायतले हरसम्भव सक्दो मदत गर्ने छ भन्ने मैले विश्वास लिएको छु ।”

गोर्खा वेलफेयर ट्रस्टका अध्यक्ष जनरल साम कोवनले भने, “गोर्खा भर्तीमार्फत नेपालसंग हाम्रो २०० वर्ष भन्दा पुरानो सम्बन्ध रहेको छ । म ब्रिटेनलाई नेपालीहरुको पीडा कम गर्न अगाडि सर्न अपिल गर्दछु। हामीसंग धेरै समय छैन् । ” संयुक्त राष्ट्रसंघका अनुसार करिब २ करोड ९० लाख जनसंख्या भएको नेपालमा कोभिड १९ संक्रमणदर अहिले अप्रत्यासित रुपमा बढेको छ र संक्रमण विश्वमै उच्च छ ।

नेपालमा हाल कोरोनाको दोश्रो लहर आएसँगै स्वास्थ्य स्थिती एकदमै नाजुक र भयबह छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मंगलबारसम्म ५ हजार बढीको ज्यान गइसकेको छ । कमजोर स्वास्थ्य प्रणालीले नेपाल अहिले स्वास्थ्यको चरम संकटमा छ । अस्पतालका बेडहरु भरिएका छन् भने मानिस अक्सिजन अभावले अकालमै मरिरहेका छन् ।

स्मरण रहोस- नेपालको बर्तमान स्वास्थ्य संकटको बेला सहयोग गर्न नेपाली राजदुताबास र एनआरएनए यूकेको संयुक्त पहलमा बेलायत स्थित नेपाली संघसंस्था र ब्यतिहरुबाट अक्सिजन कन्सन्ट्रेटर मेसिन किनेर नेपाल पठाउन आर्थिक सहयोग रकम सन्कलन गरिरहेका छन । त्यस्तै स्थानिया संस्थाहरु तमु धी यूके, तमु धी लण्डन एकाइ र राधा पौडेल फाउन्डेसन जस्ता संस्थाहरुले पनि अक्सिजन कन्सन्ट्रेटर मेसिन किनेर नेपाल पठाउन पहल गरीरहेका छ ।

उल्लेखित अभियानमा समर्थन जनाउन वा हस्तक्षर गर्न निम्न लिन्कमा क्लिक गर्नुहोला ।

Petition · UK Send Oxygen to Nepal Now · Change.org