१९औ गोरखा कपको टिम इन्ट्रीको पहिलो दिनको पहिलो घण्टामै भेटरानतर्फको सबै टिम पुरा
लण्डन । बेलायतमा नेपालीहरु माझ लोकप्रिय कार्यक्रम, नेपाली मेलापछिको दोश्रो ठुलो कार्यक्रम, यस बर्षको १९औ गोरखा कपको लागि टिम इन्ट्रीको पहिलो दिनको पहिलो घण्टामै भेटरानतर्फको सबै टिम दर्ता भइसकेको कुरा १९औ गोरखा कपको लागि टिम दर्ता (“टिम इन्ट्री”) संयोजक सहारा यूकेको अधक्ष्य कुमार गुरुङले खबर यूकेलाई जानकारी गराउनुभएको छ । त्यस्तै युथ तर्फ पनि झन्डै आधा जत्ती टिमले आफ्नो टिम दर्ता गराइसकेको कुरा अबगत गराउनुभयो । भेटरान तर्फ ८ वटा टिमले प्रतिस्पर्धा गर्नेमा ८ वटा टिम नै दर्ता भइसकेका छन भने २ वटा टिमहरु (यदी कसैले रध्द वा भाग लिन नसक्ने भएमा) रिजर्भ टिमको रुपमा राखेको कुरा गुरुङले बताउनुभयो । त्यस्तै युवा (यूथ) तर्फको 32 वटा टिममा झन्डै आधा जत्ति टिमहरुले दर्ता गराइसकेको छन भने सम्भावित टिमहरुबाट सोधपुछ तथा दर्ता गर्ने कार्य जारी रहेको कुरा गुरुङले जानकारी गराउनुभयो ।
हङकङ र यूरोपबाट टिमहरु सहभागी हुने गरेकोमा यसपाली कोभिडको कारण हङकङबाट टिम सहभागी हुन नसक्ने तर बेल्जियम र होल्याण्डका एक एक टिमले दर्ता गराइसकेको कुरा संयोजक गुरुङले अबगत गराउनुभयो । टिम दर्ता शुल्क यसपालीलाई २५० पाउण्ड तोकेको छ र आगामी जुलाई १० तारिखभित्र टिम दर्ता गराइसक्नु पर्नेछ ।
गोरखा कपमा भेटरान (चालिस बर्षदेखी माथिका) र युवा (युथ) १८ बर्षदेखी ३९ बर्षसम्मकोलाई गरेर दुई समुहमा खेलहरु लिग तथा नक आउट आधारमा खेलाइन्छ । प्रतियोगिताको युथ तर्फको प्रथम पुरुस्कार २५०० पाउन्ड र दित्तिया पुरुस्कार १५०० पाउन्ड रहेका छन भने भेटरान तर्फको पहिलो पुरुस्कार १२०० पाउन्ड र दोस्रो पुरुस्कार ८०० पाउन्ड नगद रहेको छ । साथसाथै बिजयी खेलाडिहरुले प्रमाणपत्र र मेडल (तक्मा) पनि प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्बोत्कृष्ट खेलाडी र सर्बोत्तम गोल स्कोररलाई पनि पुरुस्कार दिइनेछ ।
“यसरी पहिलो दिनको पहिलो घण्टामा यसरी उल्लेख्य रुपमा टिम दर्ता भएको देख्दा आफुलाई एकदमै उर्जा मिलेको र गोरखा कपप्रति मनिसहरु कत्ती आकर्षण छन भन्ने कुरा सजिलै बुझ्न सकिन्छ” गुरुङले इङगित गर्नुभयो । साथै उहाँले यदी कुनै टिमहरु दर्ता गराउन चाहनुहुन्छ भने समयमै संपर्क गर्नुहुन अनुरोध गर्नुभएको छ । बेलायतमा नेपाली संघसंस्थाले यस किसिमको र यस स्तरमा खेलकुद (फुटबल) कार्यक्रम आयोजना गर्ने तमु धी यूके प्रथम र एक मात्र संस्था हो । कार्यक्रममा उल्लेख्य रुपमा दर्शकहरु सहभागी हुने गर्दछन र यसपाली कोभिडपछी हुने यस किसिमको सामाजिक कार्यक्रम सम्भवत पहिलो कार्यक्रम हुने भएकोले पहिलाको भन्दा अझ बढी दर्शक हुने अपेक्षा गरेका छन । गत बर्ष कोभिड महामारिको कारण यस गोरखा कप हुन सकेको थिएन । यसपाली सफल रुपमा सम्पन्न हुनेमा टिम इन्ट्री संयोजक कुमार गुरुङ विश्वस्त हुनुहुन्छ र बेलायतबासी नेपालीलाई १९औ गोरखा कपमा सहभागी हुन अनुरोध गर्नुभएको छ ।
यसपाली गोरखा कप पहिलाकै स्थान अल्डरसट स्थित क्विन्स एभेन्युको स्पोर्ट मैदानमा आगमी जुलाई २४ तारिख शनिबार हुनेछ ।