प्रधानमन्त्री ओलीलाई खुलापत्र

रत्नबहादुर कार्की

तेस्रोपटक प्रधानमन्त्री भएकोमा बधाई ! यद्यपि, शपथको वैधानिक कानुनी मान्यताको उपेक्षा गरेर संविधानको उपहास गर्दा तपाईंको शपथ ग्रहण नै विवाद परेको छ । वास्तविक समस्याबाट जनताको ध्यान अन्यत्रै लाने पुरानै शैली शपथ ग्रहणमा पनि दोहोरियो । संवैधानिक व्यवस्था र कानुनी राज्यको उपहास गरेर लिइएको शपथले राष्ट्रपति संस्थाको पनि अपमान भएको छ ।

प्रधानमन्त्री पदको शपथको आफूखुसी व्याख्याले नेपाली जनताको मानमर्दन भएको छ । सार्वजनिक समारोहमा राष्ट्रपतिको अपमानले नेपालीको शीर झुकेको छ । ममात्रै जान्ने, सुन्ने हुँ, मैले बुझेको सत्य नै अन्तिम सत्य हो भन्ने लामो समयदेखि पाल्दै आएको भ्रमलाई नेपालीले समयमै चिर्न नसक्दा नेपालले यो दुर्दिन देख्न र भोग्न परेको हो ।

“ईश्वर” को विज्ञानसम्मत अस्तित्व अलग्गै वहसको विषय हो । कम्युनिस्टका लागि जात, धर्म, भाषा, भूगोल, ईश्वर सबै अवैज्ञानिक हुन सक्छ । यसैले तपाईँहरूले यी सबैको ‘उपयोग’ गर्ने गरेको देखिएको छ । यसैले पशुपतिमा सुनको जलहरी राख्ने वा चितवनको माडीमा सीतारामको मूर्ति स्थापनामा चोखो श्रद्धा नभएर सत्ता टिकाउने खेलकै कडी रहेको उजागर भएको छ । प्रधानमन्त्रीले जनताको पवित्र भावनामा नखेलुन् । जनता जनार्दन हुन् । जनताले चाहे भने कसैलाई पनि क्षणभरमै विस्थापित गर्न सक्छन् । प्रधानमन्त्रीले ओलीले पनि मै नै राज्य हुँ भन्ने भ्रम त्याग्नु बेस !

प्रधानमन्त्रीमा परीक्षण भइसकेकोे व्यक्तिको क्षमता र सक्कली अनुहार पनि देखिइसकेकाले पुनरागमनबाट जनतामा कुनै खुसी र उत्साह जागेन । कोरोनाले दैनिक सयौं व्यक्तिको निधन भइरहेका बेला बधाई थाप्न पनि लाज मान्नुपर्ने हो । नयाँ व्यक्ति प्रधानमन्त्री भएको भए जनतामा नयाँ आशा पलाउन सक्नेथियो कि ? तपाईंलाई भोट दिएर अहिले पश्चापतमा परेका जनता ‘बाजा बजाएर दुई तिहाइ बहुमत ल्याउँछु’ भन्ने तपाईंको अहंकार चकनाचुर बनाउने घडी कुरिरहेका छन् । पार्टीभित्रै काखा र पाखा गिरोहबन्दीले आफ्नै कार्यकर्ता पनि तपाईंसँग दिक्क छन् । ‘जता मल्खु उतै ढल्कु’ गर्ने युवा पुस्ताको लैबरी तालले म्याद नाघेको वृद्धतन्त्रकै पृष्ठपोषण गरिरहेको छ । नेता मिलाउने नाममा आफ्नो दुनो सोझ्याउने दोस्रो पुस्ताले पनि प्रकारान्तरले आफ्नै खुट्टामा बञ्चरो हान्दै छन् । मध्यावधि निर्वाचनको नारामा विपक्षी दल नेपाली कांग्रेसका सभापति अलमलिए । सरकार भ्रष्टाचार, अनियमितता, असंवैधानिक र अधिनायकवादी कार्य गरेर असफल भइसकेको बेला कांग्रेसको लागि निर्वाचन उत्तम अवसर थियो र अब पनि छ ।

असंवैधानिक संसद् विघटन, प्रतिपक्षविहीन संवैधानिक मर्मविपरीतको संवैधानिक परिषदसम्बन्धी अध्यादेश, प्रेस तथा मानव अधिकार संकुचन गर्ने विधेयकहरू, न्यायालयमाथिको हस्ताक्षेप, संवैधानिक अंगहरूमा पूर्वाग्रही नियुक्ति र परिचालन आदिले संविधान च्यात्ने र उल्लंघन गर्ने कार्य स्वयं प्रधानमन्त्रीबाटै भएपछि ताजा जनादेशको लागि जनतामा जानुको अर्को विकल्प विपक्षसँग अरू के हुन्छ ?

लोकतान्त्रिक पार्टीको नाताले पनि जनतामा जाने अभ्यासबाट कांग्रेस पछि हट्न सक्दैन । प्रधानमन्त्रींको प्रतिगमनकारी कदमलाई आन्दोलनबाटै विस्थापित गर्ने कि निर्वाचनमा जाने अन्योलमा अलमलिँदा कांग्रेस सभापती शेरबहादुर देउवाले सरकारसँग मिलेको आरोपसमेत खप्नु पर्यो । तर आफैँले विघटन गरेको संसद्को पुनःस्थापनापछि पनि प्रधानमन्त्री हुन यतिधेरै मरिहत्ते गरेको देखियो त्यसैबाट यी सबै चलखेलका पछाडि ताजा चुनाव नभई प्रधानमन्त्रीको कुर्सीमा टाँसिने अभीष्ट रहेको अहिले छर्लंग भएको छ ।

वास्तवमा संसद् विघटन बदर भएपछि प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनु पथ्र्यो । प्रधानमन्त्रीको पद त्याग गर्ने गणेशमान सिंह र पार्टीभित्रको सामान्य विवादमा राजीनामा दिने कृष्णप्रसाद भट्टराईजस्ता नेताहरूको आचरण त ओलीसँग अपेक्षित थिएन । तैपनि, आफैँले हत्या गरेको संसदबाट कमसेकम नैतिकताको आधारमा प्रधानमन्त्रीको दाबी नगरेर लोकतान्त्रिक मूल्य, मान्यता र संस्कृति थोरै भएपनि देखाउन सकेको भए हुन्थ्यो । उल्टै प्रधानमन्त्रीले त पदको लागि अराजनीतिक तिकडम गरेर नैतिकतालाई तिलाञ्जलि दिएको देखियो ।

लाग्छ, अल्पमतकै सही प्रधानमन्त्री भएपछि दिग्विजय भएको भान परेको छ । निरंकुश राजाको प्रतिगमनविरुद्ध लडेको आफ्नै पार्टीभित्रैबाट प्रतिगमनकारी, प्रतिक्रान्तिकारी, जनघाती, भ्रष्टाचारी, राष्ट्रद्रोहीकोे जघन्य आरोप प्रधानमन्त्रीले पक्कै नबिर्सनुपर्ने हो । तत्कालीन राजा ज्ञानेन्द्रले जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरेर शासन सत्ता कब्जा गर्ने तानाशाही, प्रतिगमनकारी कदम चालेका थिए । प्रजातन्त्रप्रति ओठे प्रतिबद्धता जनाएका पुर्व राजा ज्ञानेन्द्रले पनि चुनाव गर्ने घोषणा गरेका थिए । चुनाव त भएन तर जन आन्दोलन २०६२– ६३ को बलमा प्रतिगमनकारी शाही कदम फिर्ता गर्न पूर्व राजा बाध्य भए । ज्ञानेन्द्रको प्रतिगमनकारी तानाशाही कदमले २४० वर्ष लामो राजसंस्थाको पनि अन्त्य भयो ।

प्रधानमन्त्री ओलीले पनि आफ्नो अधिनायकवादी मनसुवा पूरा गर्ने ध्येयले जननिर्वाचित प्रतिनिधि सभा असंवैधानिक ढंगबाट विघटन गराउनु भएको थियो । आवधिक निर्वाचनमार्फत प्राप्त जनमतको अपमान गर्ने असंवैधानिक निर्णयकारी व्यक्ति दण्डित हुनुको साटो उल्टै प्रधानमन्त्री हुने अवस्थाले लोकतन्त्रक र कानुनी राज्य मर्माहत भएको छ । सँगसँगै विपक्षी दलको अक्षमताले पनि सीमा नाघेको छ । प्रधानमन्त्रीका अधिनायकवादी कदम रोक्ने संसद्भित्रको गणितीय सामथ्र्य प्रमुख विपक्ष दल नेपाली कांग्रेससँग थिएन । अर्कातिर, केपी ओली प्रधानमन्त्रीमा रहिरहनु देश, जनता र लोकतन्त्रको लागि अभिशाप हो भन्ने प्रधानमन्त्री ओलीकै सहकर्मी माधव नेपालको बलमा तपाईंलाई हटाउने विपक्षीको प्रयास सार्थक हुन सकेन । जसपाको सिंगै समर्थन जुटाउने आशा पनि विपक्षी दललाई थियो । तर, जसपाका ठाकुर र नेकपा (एमाले)का नेपाल दुवै पक्ष तपाईंको सत्ता टिकाउने बलिया हतियार बने । नेपालले फेरि पनि राजिनामालाई नै बार्गेनिङ्ग हतियार बनाइरहेका छन् ।

पूर्व प्रधानमन्त्री माधव नेपाललाई मनाउन तपाईंलाई २४ घन्टा पनि लागेन । एमाले नेता माधव नेपाल, भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डे कथित कारबाही फिर्तापछि राजीनामा दिनेसम्मको आफ्नो पूर्व घोषणा छाडेर सत्ताको भर्याङ बन्न तयार भए । प्रधानमन्त्री ओली ंचाहिँ कारबाही फिर्ता गरे पनि पार्टीको सबै अधिकार खिचेर पार्टीभित्र अझै बलशाली ‘जंगबहादुर’ । ओली भनेको एमाले, एमाले भनेको ओली भनेझैँ आत्मसमर्पण गरेका बिचरा नेपाल पक्षलाई लक्षित गरेर अझै पनि तरबारको धार सोझ्याइरहनु भएको छ ।

सांसद् नभएको व्यक्तिलाई एकपटक छ महिनासम्म मन्त्री बनाउनसक्ने संवैधानिक व्यवस्थालाई लत्याएर संसद् सदस्य नरहेकाहरूदाई पटक पटक मन्त्री बनाएर सत्तारोहण गर्नुभएको छ । तपाईंले देश र जनताको हितमा काम गर्ने शपथ लिँदै गर्दा कैयौं नेपालीले अक्सिजनको अभावमा प्राण गइरहेको छ । कोरोना भाइरससँग युद्ध गरिरहेका कैयौं संक्रमितले अझै पनि सरकारसँग अस्पतालका बेड, अक्सिजन, आईसीयू, भेन्टिलेटरको आशा गरेकै छन् । सिंहदरबारको नाकैमुनि रहेको ट्रमा सेन्टरमा अक्सिजन सिलिन्डरको लागि बिरामीको हाहाकारले सबै नेपाली वेचैन छौँँ । आफन्तको पनि सहयोग पाउन नसक्ने अवस्थाले संक्रमित झन् निराश र निःसाहय बनेका छन् ।

अस्पताल चाहर्दा, चाहर्दै बिरामीको एम्बुलेन्समै प्राण गएको छ । सरकारी अस्पतालमा शय्या खाली छन् भन्ने तपाईंको अमानवीय गैरजिम्मेवार भनाइले बिरामीको चहर्याइरहेको घाउमा नुनचुक छर्कने काम गरेको छ । एम्बसलेन्स र अस्पतालको अभावमा घरघरमै आइसोलेट भएकाको परिवारको झन् के हविगत होला ? घर, खेत बेचेर निजी अस्पतालमा उपचार गरिरहेका कैयौं परिवार सुकुम्वासी बनेका छन् । एक अर्कामा भाइरस सर्ने डरले कोही, कसैको सहयोगी हुन नसकेको अवस्थामा सरकार सहारा भएर उभिनुपर्ने हो । तर, कोभिड संक्रमण नियन्त्रणमा सरकारको सार्थक उपस्थिति कतै देखिदैँंन ।

उद्घाटन र शिलान्यासको मोहमा परेका तपाईँंलाई रोग, भोक र संक्रमण पीडित नागरिकको उत्पीडनले कत्तिपनि छोएन । बरु उल्टै कोभिड महामारी सरकारको नियन्त्रणमा छ भन्ने तपाईंको सीएनएनसँगको गैरजिम्मेवारपूर्ण अन्तर्वार्ताले सहयोगको लागि आतुर विश्व समुदायको ध्यान अन्यत्रै मोड्ने काम गर्यो । अस्पतालका सडक, पेटी, चिसो भुइँमा पछारिएर प्राणको भिख मागिरहेका नागरिकको दर्दनाक अवस्थाले सबैभन्दा विचलित तपाईं हुनुपर्ने हो । मजदुरको अधिकारको लागि घोक्रो सुकुन्जेल भाषण गर्ने तपाईंलाई कम्मरमा नाम्लो बेरेर भोकै मर्ने मज्दुरको कहालीलाग्दो वेदनाले पोल्नुपर्ने हो । तर, सत्ताको चास्नीमा लटपटिएका तपाईलाई त्यसले छोएन । हृदयहिन रोबोटजस्तै बन्नुभएको छ तपाईँ । नेपाल भारत सीमा क्षेत्रको अव्यवस्थित आइसोलेसन र प्रहरी प्रशासनको अपमानलाई सहन नसकेर दिउँसै कर्णलीमा हाम्फालेका ह्दयविदारक घटनाले पनि तपाईंलाई छोएन ।

निर्मला पन्तजस्ता बलात्कृत, तिरस्कृत चेलीको चिच्याहट पनि तपाईंँको कानबाट छिरेन । लकडाउनको कारण रोजीरोटी गुमाएका गरिब मज्दुरले नाङ्गै खुट्टा मेची महाकालीको सयौं किलोमिटर भोकभोकै छिचोलेको पीडाले पनि तपाईंलाई ब्यूँझाएन । कर तिरेर पाल्ने जनताको संकटमा साथी हुनुपर्ने तपाईँं सरकार बनाउने र गिराउने खेलमा लिप्त हुनुहुन्छ । गण्डकी प्रदेशमा अविश्वासको प्रस्ताव पास हुने भएपछि जनमोर्चाको सांसद आईसीयुमा भर्ना गरियो । तपाईंका प्रिय मुख्यमन्त्री टिकाउने नाममा कोरोनाको मजाक उडाउने र किर्ते विज्ञप्ति निकाल्ने ब्यक्तिलाई किन कारबाही गरिएन ? अपराधिक कार्यमा संलग्न भएर बदनाम व्यक्तिलाई मन्त्री बनाएर राजनीतिको परिभाषै बदल्नु भयो । नेता हुनलाई समाज सेवा गर्नु पर्ने उपदेश अहिले उनैबाट ग्रहण गरिरहनु भएको छ । विनाकारण प्रदेश प्रमुख फेरेर विधिको शासन र संसदीय अभ्यासको धज्जी उडाउँदै हुनुहुन्छ । प्रधानमन्त्री बन्नकै लागि अर्को पार्टीका सांसद अपहरण र गुण्डागर्दीमा अब्बल जसको नामै काफी छ – तिनैको सहयोगमा डोलेश्वर रिसोर्टमा थुन्ने अराजनीतिक कार्य गर्न पनि पछि पर्नु भएन ।

पूर्वयोग्यता नतोकिएको जसरी भए पनि सांसद भए पुग्ने नेपालमा प्रधानमन्त्री हुन कुनै योग्यता चाहिँदैन । संविधान र कानुनको यही त्रुटिमा खेलेर प्रधानमन्त्री बनेका तपाईँजस्ता असफल अधिनायकवादी शासकबाट पटकपटक शासित हुनुपर्ने इतिहास दोहोर्याई रहन हामी नेपाली अभिशप्त छाैँ । किन ? कुन पापको सजाय हो यो ?

उही तपाईंको नागरिक
–रत्नबहादुर कार्की
Email: rkarki414@gmail.com