एनआरएनए यूकेको अधक्ष्यको प्रत्यासी रोजिना प्रधान राइले पनि तीन स्थान संपर्क कार्यालय खोलिन
लन्डन । एनआरएनए यूके निर्वाचन नजिकिंदै गर्दा अध्यक्षका प्रत्यासीहरु यतिखेर सदस्यता विस्तारमा जुटिरहेका छन् । यसपटक व्यवस्थित कार्यालय खोलेरै अनलाइन सदस्यता बढाउने ‘ट्रेन्ड’ शुरु भएको छ । यसैक्रममा एनआरएनए यूके अध्यक्षकी प्रत्यासी एवं वर्तमान उपाध्यक्ष रोजिनाप्रधान राईले पनि बेलायतका विभिन्न शहरमा ‘डेडिकेटेड स्टाफ’ सहित तीनवटा अफिस खोलेर उच्च प्राथमिकताका साथ सदस्यता बनाउने कामलाई तिब्र पारेकी छिन् ।
नेपालीहरुको बाक्लो बस्ती रहेको र एनआरएनए यूकेको भोट बैंक मान्ने क्षेत्र अल्डरसटको एम्पायर हल र श्री लक्की ज्वेलरी एवं पिटरबरोस्थित न्यू रोडमा सदस्यता बनाउने वा सदस्यता बिस्तार गर्ने हेल्प डेस्क खोलेको कुरा अध्यक्ष्यको प्रत्यासी रोजिनाले बताइन् । एक मात्र सशक्त महिला अकांक्षी र जनमानसबाट राम्रो साथ समर्थन पाएकी रोजिनाले आफ्ना सम्पर्क कार्यालयबाट सदस्यता व्यवस्थापनसहित प्रचार प्रसार र अन्य कामहरु भइरहेको कुरा जानकारी गराइन ।
जुनै पनि संस्थाको मेरूदण्ड नै सदस्यहरु भएकोले प्रभाबकारी रुपमा अधिकतम सदस्य बनाउनेतर्फ आफुहरु लागेको कुरा रोजिनाले बताइन । यसपटक एमआइएस सिस्टमबाट सदस्यता लिनुपर्ने वा बनाउनुपर्ने भएकाले त्यसतर्फ आफुहरु व्यस्त भएको कुरा जानकारी गराइन । विशेष गरि ज्येष्ठ नागरिकहरु एमआइएस सिस्टमबारे (प्रबिधीबारे) बेखबर भएकाले चुनौतिपूर्ण रहेको र यी सम्पर्क कार्यालयहरुबाट सदस्य बनाउन सहजिकरण गरिरहेको कुरा उनले बताइन् । एनआरएनए आइसीसीले सबै राष्ट्रिय समन्वय समितिलाई अनिवार्य रुपमा एमआइएस प्रविधि अंगाल्न निर्देशन दिएपछि एनआरएनए यूकेले पहिलोपटक अनलाइन सदस्यता वितरण शुरु गरेको हो । एनआरएनए यूकेको सदस्य आगामी १० जुनसम्म बन्नुपर्ने छ ।
रोजिनाले पछिल्लो समय बेलायतस्थित प्रमुख नेपाली संघसंस्थाका प्रतिनिधिहरुसंग प्रत्यक्ष भेट गरि आफूलाई सहयोग गरिदिन आग्रह गरिरहेकी छिन् । अग्रजहरुको प्रेरणाले आफू आशावादी भएको बताउंदै उनले अब पछाडि हट्ने सम्भावना कत्ति नरहेको पनि खुलाइन् ।