लिभरपूलको गाेलकिपर एलिसाेनकाे कीर्तिमानी गाेल‍‍

प्रिमियर लिगको ३५ औं चरणको खेलमा लिभरपुल उत्रिएको थियो, वेष्ट ब्रुमसँग । सिमसिम पानी परिरहेकाे माैसम, लिभरपुललाई जित्नैपर्ने खेल र वेष्टब्रुमलाई आफ्नाे इज्जत राख्नुपर्ने दबाव । यस्तैमा खेलको ९० मिनेटसम्म एक एक गोलको बराबरीको अवस्थामा रहेको खेलमा चार मिनेटको इन्जुरी समय थपिएको थियो । लिभरपुललाई शिर्ष तीनमा पुग्नका लागि यो खेल गर या मरको अवस्थामा रहेको थियो ।

यो सिजनमा रेलिगेसनमा परिसकेको वेष्टब्रुमले लिभरपुललाई कडा टक्कर दिइरहेको थियो । खेल एक एक गोलको बराबरी हुने अवस्थामा लिभरपुलका गोलकिपर एलिसोन आफ्नो पोष्ट छोडेर गोलको खोजीमा वेष्ट ब्रुमको पोष्टमा पुगे ।

यस्तैमा खेलको इन्जुरी समयको अन्तिममा लिभरपुलले कर्नर पायो । त्यो कर्नरबाट आएको बललाई एलिसोनले सशक्त हेडर गोल गर्दै टिमलाई जित दिलाए । आफ्ना स्ट्राइकरले बारम्बार मौका पाउँदापनि असफल बनिरहेका बेला एलिसोनको त्यो हेडर गोल टिमका लागि संजिबनी बुटि नै बन्यो । पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेका एलिसनले ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डको कर्नरलाई हेडर मार्फत गोल गर्दै जित पक्का गरे ।

त्यो ऐतिहासिक गोल भिडियोमा

त्यहि गोलका कारण लिभरपुलले दुई एकको जित निकाल्दै शिर्ष तीनको संभावनालाई जिवितै मात्र राखेन, एलिसोनले क्लवको इतिहासमा गोलकिपर भएर गोल गर्ने पहिलो खेलाडी बने । सन् १८९२ मा स्थापना भएपछि लिभरपुलका लागि गोलकिपरले गोल गरेको यो पहिलो पटक हो । यसका साथै प्रिमियर लिगमापनि गोलकिपरले हेडरबाट गोल गर्ने उनी पहिलो खेलाडी बने । प्रिमियर लिगमा उनी गोलकिपर भएर गोल गर्ने उनी छैटौं खेलाडी बनेका छन ।

यसअघि म्यानचेस्टर युनाईटेडका पिटर सिमेइसेल गोलकिपर भएर गोल गर्ने पहिलो खेलाडी बनेका थिए । जुन सन् २००१ मा एभर्टनविरुद्ध गोल गरेका थिए । त्यसपछि ब्राड फ्रेइडेल, पउल रोबिनसन, टिम होवार्ड र अस्मिर बेगोभिकले गोलकिपरका रुपमा गोल गरेका छन ।

प्रिमियर लिगमा गोलकिपरले गोल गरेको यो आठ बर्षपछि पहिलो पटक हो । सन् २०१३ मा बेगोभिकले अन्तिम पटक गोल गरेका थिए ।