कोरोनाविरुद्धको नयाँ औषधि बनाएको भारतको दाबी, आपत्कालीन प्रयोगको लागि स्विक्रिती
एजेन्सी । भारतले कोभिड–१९ का लक्षणको उपचार गर्ने नयाँ स्थानीय औषधिबारे घोषणा गरेको छ । आधिकारिक निकायले २–डीजी नामक सो औषधि आपत्कालीन प्रयोगका लागि स्वीकृत गरेको हो र अब त्यसलाई दिल्लीभरका अस्पतालहरुमा प्रयोग गरिने बताइएको छ । सरकारको बयान अनुसार यसले कोभिड–१९ का बिरामीहरुलाई उल्लेखनीय लाभ पुर्याउनेछ । तर अर्कोतर्फ केही आलोचकहरुले चाहिँ कोभिडको उपचारमा यो औषधिलाई आपत्कालीन स्वीकृति दिन पर्याप्त डाटा नभएको चेतावनी पनि दिइरहेका छन् ।
यो औषधि फर्मा कम्पनी डाक्टर रेड्डीजसँगको सहकार्यमा ‘डिफेन्स रिसर्च एण्ड डेभेलपमेन्ट अर्गनाइजेसन (डीआरडीओ)’ ले निर्माण गरेको हो । सरकारले यसबारे घोषणा गर्दै, क्लिनिकल ट्रायलको नतिजामा यो तत्वले अस्पताल भर्ना भएका कोभिडका बिरामीलाई छिटो निको पार्न अनि अक्सिजनप्रतिको निर्भरता कम गर्नमा मद्दत पुर्याउने देखिएको बताएको छ ।
तर स्वास्थ्यविद्हरुले यस सम्बन्धी प्रकाशित डाटामा मान्छेको ट्रायलमा यसको प्रस्तुतिताबारे पर्याप्त जानकारी नभएकाले यसको प्रभावकारीता प्रति प्रश्न उठाइरहेका छन् । यसका साथै उनीहरुले ‘२–डिओक्सी–डी–ग्लुकोज’, डी२ पहिले क्यान्सरको उपचारका लागि निर्माण तथा परीक्षण गरिएको र लामो समयदेखि प्रयोग हुँदै आए पनि स्वीकृत नभएको पनि ठहर गरिरहेका छन् ।
हालसम्म कोभिड–१९ लाई ठीक गर्ने कुनै उपचार छैन र यसका लक्षणहरुलाई कम गराउने औषधिको पनि भारतमा ठूलो अभाव रहेको छ जो दोस्रो लहरको भयावह संक्रमणको सामना गरिरहेको छ । २ लाख ७० हजार बढी कोभिड मृत्यु पश्चात् भारत यतिबेला कोभिड एपिसेन्टर बनेको छ । यसमा देशभर जारी खोप अभियानको कार्यक्रम पनि राम्ररी अगाडि बढ्न नसक्दा संकट झन अनियन्त्रित बन्न पुगेको हो । त्यसैले सरकारले यो नयाँ औषधिलाई वैकल्पिक थेरापीका रुपमा मध्यम देखि गम्भीर बिरामी परेका मानिसहरुमा प्रयोग गर्न सकिने बताएको छ ।
यसका साथै यो देशभर सर्वत्र उपलब्ध रहेको र सजिलै उत्पादन गर्न पनि सकिने हुँदा बिस्तारै यसको प्रयोग बढाइ हालको कोभिड आपतकाल खुकुलो पार्न सकिने पनि बताएको छ । सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “ठूलो सङ्ख्यामा बिरामीहरुमा अहिले अक्सिजनप्रतिको निर्भरता र अस्पताल भर्ना हुनेपर्ने अवस्था बढेको छ । त्यसैले यो औषधिले धेरै अमूल्य जीवन जोगाउन सक्ने अपेक्षा रहेको छ । साथै यसले कोभिड बिरामी अस्पताल भर्ना हुनुपर्ने क्रमलाई पनि न्युनीकरण गर्न सक्नेछ ।”
स्रोत – बिबिसी