जसपाले पनि प्रधानमन्त्रीको शपथ बदर गर्नुपर्ने सहित तीन कुराको माग
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष तीनवटा माग राखेको छ । अध्यक्ष उपेन्द्र यादवले आज एक विज्ञप्ति जारी गर्दै शपथग्रहणमा भएको गल्ती सच्च्याउन, कोरोना नियन्त्रण प्रभावकारी बनाउन, राजदूत नियुक्ति संविधान बमोजिम समावेशी समानुपातिक सिद्धान्त अनुसार बनाउन माग गरेका हुन् ।
यस्ता छन् जसपाको माग :
प्रधानमन्त्रीले वैशाख ३१ गते शपथ ग्रहणका क्रममा ‘सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दुछ’ भन्ने वाक्यांशमा प्रतिज्ञा गर्दुछ नभनी सत्यनिष्ठापूर्वक त्यो पर्दैन भनेका थिए । त्यही विषयमा जसपाले शपथ ग्रहण बदर गरी पुनः गराउन माग गरेको छ ।
१) २०७० वैशाख ३१ गते सम्माननीय प्रधानमन्त्रीको सपथग्रहणमा सम्माननीय राष्ट्रपतिद्वारा वाचन भएको सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दछु भन्ने वाक्याशमा प्रतिज्ञा गर्दछ नभनी ’सत्यनिष्ठापूर्वक त्यो पर्दैन’ भनेर शपथग्रहण गरेकाले यसले देशको राष्ट्रपति र प्रधानमन्त्री पदको मयांदा र गरिमामा गभीर आंच पुगेको हुँदा उक्त शपथग्रहण वदर गरी पुनः शपथग्रहण गर्न गराउन हाम्रो पार्टी माग गर्दछ ।
२) नेपालको संविधानको धारा २८२ र २८३ मा समावेशी सिद्धान्तबमोजिम राजदुतहरू नियुक्ति गर्नुपर्ने व्यवस्था भएकोमा पटक–पटक राजदुतहरू नियुक्ति गदा समावेशी आधारमा नगरेको र त्यस्को मापदण्ड समेत उल्लङ्घन भए गरेको छ। यस्ता राजनीतिक नियुक्तिहरूमा वर्तमान सरकारले मधेशी, आदिवासी जनजाति, महिला, दलित, थारु लगायतका समुदायहरूको संविधानको व्यवस्था विपरित न्यून प्रतिनिधित्व गराई उपेक्षा र विभेद गरेका छन् । अतः राज्यका सबै अंग, तह र निकायमा समानुपातिक समावेशी मान्यता तथा त्यस सम्बन्धी मापदण्डका आधारमा नियुक्ति गर्न हाम्रो पार्टी माग गर्दछ ।
३) देशमा हाल देखा परेको कोभिडको दोश्रो लहरले नेपाली जनताहरू आक्रान्त छन् । यस्तो अवस्थामा पनि सरकारले जिम्मेवारीपूर्वक आपतकालिन व्यवस्थापन गर्न पर्याप्त ध्यान नदिएको मात्र होइन अस्पतालहरूमा कोभिडका विरामीहरुका लागि बेड, अक्सिजन, भेन्टिलेटर र औषधीको समेत अभावले जनता अकाल मृत्युवरण भइरहेको छ । स्वास्थ्यकर्मी, डास्टर अर्थात आवश्यक जनशक्ति बेड, अक्सिजन, भेन्टिलेटर र औषधीको यथाशिघ व्यवस्था गर्नुपर्दछ ।